काठमाडौं । जेनजी आन्दोलनका कारण केही दिन मुलुकको अवस्था अस्तब्यस्त हुँदा दशैंमा घर फर्किने यात्रूहरुले पनि समस्या भोग्नु पर्ने भएको छ । आन्दोलनकै कारण विद्यालय कलेजहरुमा विदा दिइसकेको हुँदा विद्यार्थी फर्किने क्रम शुरु भइसकेको भन्दै अग्रीम टिकटसमेत खुल्ला गरिएन ।
वर्षाको कारण दशैंका लागि घर फर्किदै गरेका यात्रीहरु बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । दशैंमा यातायात ब्यवस्थापन र सडक सुरक्षाका सन्दर्भमा सरकारले विभिन्न निर्णय गर्ने क्रममा नागढुंगा सुरुङ मार्ग समेत खुला गर्ने भएको छ ।
यस वर्षको दशैं सोमवारदेखि शुरु हुँदैछ । दशैंका लागि काठमाडौंबाट ठूलो संख्यामा गाउँघर फर्किने भएकाले यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट खुल्ला गरिँदै आएको थियो । तर यस पटक भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिका कारण काठमाडौंबाट फर्किने क्रम जारी नै रहेको भन्दै अग्रिम टिकट खुल्ला गरिएन । यातायात ब्यवसायीहरुले पनि अनलाइन टिकटलाई प्रश्रय दिने भन्दै अग्रिम टिकट खुला गर्नु नपर्ने सुझाए ।
तर दशैंका यात्रुहरु घर फर्किने क्रम जारी रहँदा वर्षाले देशैभरका यातायात सेवा प्रभावित भएपछि यात्रीले सास्ती बेहोर्नु परेको छ । शुक्रबार मात्रै मुग्लिन सडकमा विभिन्न ठाउँमा गएको पहिरोले २४ घण्टा भन्दा बढी यात्रुहरु अलपत्र परे । यिनै समस्यालाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा सरोकारवालाहरुको बैठकले यातायात ब्यवस्थापनका सन्दर्भमा विभिन्न ७ निर्णय गरेका छन् ।
दशैंका लागि सरकारले काठमाडौंबाट बाहिरिने सार्वजानिक सवारीलाई नागढुंगा–सिस्नेरी सुरुङ्गमार्ग प्रयोग गर्न दिने निर्णय गरेको छ । वर्षाले विभिन्न ठाउँको सडकमा भएको समस्यालाई ओझेलमा पार्ने गरी सरकारले सुरुङ मार्ग सञ्चालनमा ल्याउन लागेको हो ।
नागढुंगा–सिस्नेरी सुरुङ्गमार्गलाई परीक्षणको रुपमा सार्वजानिक सवारीलाई दशैँ अगाडि नै सञ्चालन गर्न दिइने तर दशैं पछाडी भने रोक लगाइने भौतिक पुर्वाधार तथा यातयातमन्त्री कुलमान घिसिङले बताए ।
दाउन्ने खण्डमा ठूला सवारी सञ्चालनमा रोक
वर्षाको कारण मुग्लिन सडक मात्र नभइ बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पनि उस्तै समस्या छ । त्यसैले दाउन्ने खण्डमा दशैं अवधिभर लागू हुनेगरी ठूला भारवाहन सवारी साधनहरु सञ्चालनमा रोक लगाउने निर्णय सरकारले गरेको छ । काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्ने पनि निर्णय गरिएको छ ।
खाध्यान्न लगायतका अत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने निर्णय गरिएको मन्त्री घिसिङले जानकारी दिए ।
नारायणगढ—मुग्लिङ सडक खण्डको तुइन खोलामा भएको पहिरो हटाई तत्काल यातायात सञ्चालनमा ल्याउने निर्णय पनि सरकारले गरेको छ । बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
उत्तरी नाकामा सयौं कन्टेनर अलपत्र
दशैंका लागि यातायात ब्यवस्थापन सहज बनाउने सरकारले निर्णय गरे पनि उत्तरी नाकामा झण्डै २ महिनादेखि सयौं कन्टेनरहरु अलपत्र छन् । चीनबाट नेपाल भित्रिएर तातोपानी भन्सार भएर काठमाडौँ आउँदै गरेको कन्टेनरहरू पहिरोले रोकिएका हुन् ।
पहिरोले डाक्लाङमा कन्टेनरहरु रोकिएपछि फलफूल लगाएका सामानहरु कुहिन थालेका छन् । गत साउन ६ गते भोटेकोशी गाउँपालिका–२ मा आएको पहिरोले मालवाहक गाडीहरु ठप्पप्राय छ । मन्त्री घिसिङको अध्यक्षतामा शनिवार बसेको बैठकले भने तातोपानी नाकालाई जोड्ने मुख्य सडक दशैं अगाडि नै सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्ने निर्णय बैठकले गरेको छ ।
असोज ३ गतेदेखि रुट परमिट खुल्ला
सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको पर्सिपल्टसम्म (असोज ६ गतेदेखि २२ गते) सम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गरेको यातायात व्यवस्था विभागले जनाएको छ । तर विशेष परिस्थितका कारण निषेध गरिएका सार्वजनिक सवारीलाई भने बन्देज नै गरिएको विभागले जनाएको छ ।
