
मकवानपुर । गत भदौ २४ गते भएको जेन–जी को प्रदर्शनका कारण भग्नावशेष बनेका सरकारी संरचनाको अवस्था अझै उस्तै छ । भवनहरु आगलागीले डढेका कारण छिट्टै पुरानै अवस्थामा फर्किन सक्ने अवस्था छैन । तर पनि, हेटौंडा उपमहनगरपालिका सेवा प्रवाहमा जुटेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा आक्रमणमा परेको हेटौंडा उपमहानगरपालिकाले विस्तारै सेवा प्रवाह सुरु गरेको छ । अत्यावश्यक सेवा प्रवाह रोक्न सकिने अवस्था नभएकाले जलेका भवनहरुमै बसेर भएपनि नागरिकलाई सेवा दिनुपर्ने बाध्यतामा छ, हेटौंडा उपमहानगर ।
आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिकाको भवनदेखि वडा कार्यालयहरुसम्म आगजनी भयो । कर्मचारीको सवारी साधन देखि शव बाहन सम्म जलाइयो । उपमहानगरपालिकामा रहेका हजारौं कागजपत्र मात्रै होइन, सिंगो नगरको दस्तावेज नै खरानीमा परिणत भयो ।
उपमहानगरपालिका परिसरमा भर्खरै निर्माण गरिएको सभाहलदेखि सरसफाइका सवारीहरुसम्म आगजनी भयो । हेटौंडा उपमहानगरपालिका कार्यालयदेखि वडाहरु समेतमा क्षति पुगेपछि भवन बाहेक ३२ करोड रुपैंया भन्दा बढी क्षति हुन पुगेको तथ्यांक सार्वजनिक गरिएको छ ।
त्यसोत, सरकारी संरचनामा क्षति हुँदा सेवा प्रवाहमा समस्या भैरहेको जनप्रतिनिधिहरु बताउँछन् । कार्यालयमा रहेका पुराना फाइलहरु देखि भुक्तानीका लागि राखिएको फाइलहरु समेत जल्दा नागरिकहरुलाई सेवा प्रवाहमै सकस भैरहेको छ ।
प्रदर्शनका क्रममा धेरै क्षति पुगेको केही वडाहरुले अझै पनि सेवा सुचारु गर्न सकेका छैनन् भने नगरपालिकामा भने अत्यावश्यक सेवाहरु आगजनी भएकै भवनबाट सुरु गरेको छ ।
स्वास्थ्य सेवा, प्रशासनिक सेवा, आर्थिक विकास महाशाखाबाट प्रवाह हुने कृषि, पशुपन्छी, उद्योग तथा सहकारी क्षेत्र लगाएतको अत्यावश्यक सेवा प्रवाह भने आगलागी भएकै भवनबाट सुरु गरिएको हो ।
जेन–जी प्रदर्शनले सरकारी संरचनामा क्षति गरेपछि खरानी टक्कटक्याउँदै नगरले सेवा प्रवाह निरन्तरता दिएको छ । जलेका फाइल र नष्ट भएका संरचनाबीच पनि प्रशासनिक कामकाजलाई अघि बढाउन सुरु गरेको छ । तर, नागरिकलाई प्रभावकारी सेवा दिन पुनःनिर्माण तथा पुनर्संरचना कार्य कहिले सुरु हुने भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।