काठमाडौं । दशैंको यात्रुहरु घर फर्किने क्रम जारी रहँदा काठमाडौं भित्रिने प्रमुख मार्ग मुग्लिन सडकमा यात्रीले ठूलो सास्ती ब्यहोर्नु परेको छ । हरेक वर्ष सडकको दुरावस्थाका कारण यात्रुले सास्ती ब्यहोर्नु परेको हो । सडकको यहि अवस्थाका कारण नै यातायात ब्यवसायीले अग्रिम टिकट बुकिङ पनि खुलाएनन् । अहिले दशैंका लागि बालबच्चासहित घर फर्किँदै गरेका यात्रीहरुको विचल्ली भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशको अवस्था संकटपूर्ण अवस्थामा थियो । आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भई स्थिति सहज बनेको हो । त्यही असहज परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय सहित सबैजसो विश्वविद्यालयले विद्यार्थीहरुलाई छठसम्मकै लागि बिदा दिएको थियो । कलेज बिदा भएपछि विद्यार्थीहरु असोज नलाग्दै घरतिर लागेको भन्दै यातायात ब्यवसायीहरुले अग्रिम टिकट खुलाउन नपर्ने सरकारलाई सुझायो ।
विगतमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लामो समयको लोडसेडिङ हटाएर चर्चामा आएका कुलमान घिसिङ यातायात मन्त्री छन् । यातायातको तत्कालको समस्याबारे अनभिज्ञ यातयात मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङ असोज ३ गतेदेखि मुग्लिन पहिरोले हजारौं यात्रीहरु सडकमा अलपत्र भइरहँदा यातायात क्षेत्रलाई डिजिटलाइजेशन गरेर ब्यवस्थित गर्ने बताइरहेका थिए ।
सरकारले दशैंका लागि यातायात सहज गराउन भन्दै नागढुंगा सुरुङ मार्गसमेत सञ्चालनमा ल्याउने घोषणा गरेको छ । तर सुरुङ मार्ग पार गरेपछि सडकको अवस्था उस्तै छ । असोज ३ गते साँझ खसेको पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गर्न मात्रै २ दिन लाग्यो ।
दुई दिनपछि एकतर्फी सञ्चालन भएको बाटो पूर्ण रुपमा सञ्चालन नहुँदै पुनः मंगलबार दिउँसो झनै ठूलो पहिरो खस्यो । झनै ठूलो पहिरो खसेको ठाउँमा सडक नै भासिने जोखिम रहेको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । सोमवादेखि घटस्थापना शुरु भएपछि दशैंमा घर फर्किनेहरु लाम छ । तर मुख्य सडक नै अवरुद्ध भएपछि यात्रीहरुको विचल्ली भएको छ । जसका कारण यात्रीले अन्य वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।
कुन कुन छन् बैकल्पिक सडक ?
तुइन खोलाको पहिरोले मुग्लिन नारायणघाट सडक अवरुद्ध भएपछि अन्य वैकल्पिक बाटो अपनाउनुपर्ने छ । यी केही बाटोहरु वैकल्पिक बाटोको रुपमा प्रयोग गर्न सकिनेछ ।
- पोखरा, स्याङजा, पाल्पा हुँदै बुटवल सडक
- धादिङबेशी हुँदै आरुघाटबाट, भिमसेन थापा गाउँपालिका भएर जाने सडक ।
- गोरखा–खैरेनी सडक
- काठमाडौं– भिमफेदी– हेटौडा सडक
- मुग्लिन तनहुँ विमाद हुँदै गैडाकोट सडक
मुग्लिन सडक अवरुद्ध हुँदा हवाई भाडामा मनपरी
 
दशैंको मुखमा काठमाडौं भित्रिने र बाहिरिने मुख्य मार्ग मानिने मुग्लिन सडक अवरुद्ध हुँदा हवाइ मार्गमा मनपरी भाडा निर्धारण भएका छन् । सार्वजनिक सवारीका साधनमा गाडी भाडा बढी भएकोमा गुनासो आउने भए पनि हवाई भाडामा भने सरकार मुकदर्शक बन्ने गरेको छ । 
भरतपुर, भैरहवा लगायत देशभरका उडानमा विगतका नियमित भाडा भन्दा दोब्बर भाडा कायम गरिएको छ । सडक यातायातको सकसपूर्ण बन्दा हवाइृ भाडामा पनि सरकारले नियमन गर्न आवश्यक देखिन्छ ।
                                    
                                                                    