पर्सा । हिन्दुहरुको महान पर्व वडादशैँ शुरु भएसँगै वीरगञ्जका विभिन्न शक्तिपिठहरुमा भक्तजन तथा दर्शनार्थीहरुको घुईचो लागेको छ । शक्तिको प्रतिक मानिने माता भगवतीको पूजाआजाका लागि पर्सा, बारालगायत छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् । श्रद्धालुहरुको भिडभाडले वीरगञ्जका शक्तिपिठहरुमा भक्तिमय वातावरण बनेको छ । यता चाडपर्व शुरु भएसँगै जिल्लाका विभिन्न शक्तिपिठहरुमा धार्मिक तथा सामाजिक कार्यक्रमहरुको सुरुवात भएको छ । यहि अवसरमा वीरगञ्जमा नेपालमै पहिलोपटक भगवतीको चुनरी यात्रा निकालिएको छ ।
नेपालीहरुको महान चाड वडादशैँ शुरु भएसंगै पर्साका १४ वटै पालिकाहरुमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा आयोजना गरिदैछ । नौँ दिनसम्म मनाईने दशैँको अवसरमा विभिन्न शक्तिपिठहरुमा भजन किर्तन, भगवतीको पूजापाठ गर्ने कार्य भइरहेको छ, भने वीरगञ्जका गल्ली तथा पसलहरुमा माता भगवतीको भजन गुञ्जीरहेको छ । यस्तै वीरगञ्जका मठमन्दिरहरुलाई विगत भन्दा अझ बढी आकर्षित बनाउन झिलीमिली बत्तीले श्रृंगारिन थालिएको छ ।
झन रातको समय झलीमिली बत्ती तथा सरसजावटले वीरगञ्जका धार्मिक स्थलहरुमा छुट्टै रौनक देखिएको छ । दशैँमा स्थानीय लगायत बारा, रौतहट र छिमेकी मुलुक भारतबाट समेत हजारौँको संख्यामा भक्तजनहरु पूजाआजाका लागि वीरगञ्ज आउने गर्दछन् ।
अहिले वीरगञ्जका ऐतिहासिक शक्तिपिठ जस्तै गहवामाई मन्दिर, विर्ता मन्दिर, विन्दवासिनीमाई मन्दिर , बौधीमाई मन्दिरमा श्रद्धालुहरुको भिडभाड बढ्दो छ । बिहानैदेखी श्रद्धालु भक्तजनहरुको चहलपहल र सजावटले वीरगञ्ज भक्तिमयको वातावरण बनेको छ । दशनार्थीहरुको भिड व्यवस्थापनका लागी विभिन्न सामाजिक संघसंस्थाहरु सक्रिय छ्न । यसले मन्दिरमा पूजाआजा गर्न आउनेहरुलाई सहजता प्रदान भएको छ ।
यस्तै अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको सुरक्षाका लागि ठाउँठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको र ड्रोन मार्फत निगरानी बढाइएको छ ।
यता, वीरगञ्जमा पछिल्ला वर्षहरुमा धार्मिक गतिविधिहरु बढ्दै गएपछि चाडपर्वहरुमा भक्तजनहरुको सहभागिता पनि उल्लेखनीय रुपमा वृद्धि हुँदै आएको छ ।
नगरका गल्ली तथा चोकहरुमा स्थानीयहरुको सक्रियतामा माताको पण्डाल लगाउने देखी विभिन्न ठाउँहरुमा कलश यात्रा, जलयात्रा निकालिएको छ । सोही अन्तरगत घटस्थापनाको अवसरमा वीरगञ्जमा दुर्गा माताको चुनरी अर्थात (पछ्यौरी) यात्रा निकालएिको छ । विश्व हिन्दु परिषदको आयोजनामा नेपालको इतिहासमै पहिलोे चुनरी यात्रा निकालिएको विश्व हिन्दु परिषदका अध्यक्ष ज्योती रुंगटा बताउछन् ।
यात्राका क्रममा करिब १ हजार ५ सय महिला श्रद्धालुले १ सय ५१ मिटर लामो चुनरी बोकेर नगर परिक्रमा गरेका थिए । मुलुककै आर्थिक नगरीको रुमपा परिचित वीरगञ्ज अब भने धार्मिक दृष्टीकोणले पनि महत्वपूर्ण क्षेत्रको रुपमा स्थापित हुँदै आएको छ ।

