
रुपन्देही । उपभोक्ता माझ स्वदेशमै उत्पादित बस्तुको पहिचान र प्रवद्र्धन गर्नका लागि बुधवारदेखि भैरहवामा दशैं सस्तो बजार सञ्चालनमा ल्याइएको छ । बजार सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीे बजार संघकै भवन परिसर भित्र सञ्चालनमा ल्याएको हो । असोज १२ गतेसम्म सञ्चालन हुने बजारमा विभिन्न स्वदेशी बस्तुका १४ वटा स्टल छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीेले भैरहवामा दशैं सस्तो बजार सञ्चालनमा ल्याएको छ । संघले आयोजना गरेको सस्तो बजार पाँचौं शृङ्खला हो । दशैं सस्तो बजारको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले स्वदेशमै उत्पादित बस्तुहरु सुपथ मूल्य र गुणस्तरीय छन् भनेर आम उपभोक्ता समक्ष जानकारी दिन यो बजारले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यस्तो किशिमको बजार संचालन गर्दा एकातिर स्वदेशी बस्तुको बजारीकरण तथा प्रवद्र्धनमा सहयोग पुग्ने छ भने अर्कोतर्फ स्वदेशी बस्तुप्रति उपभोक्ताको चासो बढ्छ । स्वदेशी बस्तु भन्ने बित्तिकै गुणस्तरहिन ठान्ने र सीमापारी गई किनमेल गर्ने पभोक्तालाई बजारले सचेतना जगाउन सहयोग समेत पुग्ने उनको भनाइ छ ।
आम उपभोक्तालाई एकैथलोबाट स्वदेशी उत्पादनहरु सुपथ मूल्यमा उपलब्ध गराउनु यो बजारको मुख्य उद्देश्य हो । संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले मुलुकको प्रतिकुल अवस्थामा पनि उपभोक्तालाई सस्तो, शुलभ र गुणस्तरीय वस्तु एकै थलोबाट उपलब्ध गराइएको बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै सिमावर्ती भारतीय बजार भन्दा सुलभ मूल्यमा गुणस्तरीय सामान उपलव्ध गराइरहेको आचार्यले बताए ।
यो बजारबाट ५० देखि ६० लाख रुपैयाँको कारोबार हुने संघले अपेक्षा गरेको छ । बजार प्रत्येक दिन बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भइरहेको छ । मुस्ताङको स्याउ, आलु लगायतका कृषिजन्य सामाग्रीदेखि खानेतेल, चिनी, भाडाबर्तन, आँटा मैदा, चाउचाउ, आलुचिप्स, चिउरा, घिउ, मह लगायतका अर्गानिक र स्वदेशी बस्तु बजारमा राखिएका छन् ।