News 24 Television
खराब मौसमका कारण  आन्तरिक उडान ठप्प, अन्तर्राष्ट्रिय उडान भने जारी

काठमाडौँ । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् ।

    खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी दिए । 

    उनले भने, “मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तरराष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ ।”

    अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update