
रौतहट । असोज १८ गते आएको वर्षाको कारण रौतहट जिल्ला पनि प्रभावित बन्यो । रौतहटमा यसपटक देशैभरमा सबैभन्दा बढि वर्षा भएको थियो । लगातारको वर्षाले ठूलो बाढी नआएपनि डुबान भने भएको छ । जिल्लाका आधा दर्जन बढि पालिकाहरु यतिखेर डुबानमा परेका छन् । रौतहट जिल्ला डुबानमा पर्नुको मुख्य कारण भारतिय बाँध हो । भारतले दशगजा मिचेर बनाएको बाँध प्रत्येक वर्ष नेपाल र नेपाली डुबाउने मुख्य कारण बनेको छ ।
यसवर्ष देशभरमै सबैभन्दा बढि वर्षा भएको रौतहतमा पानी पर्न रोकिएको ५ दिन पुगिसक्दा आधा दर्जनभन्दा बढि पालिका अझै डुबानमै छन् । डुबान कायमै रहनुमा पानीको निकासको लागि भारतीय बाँधको ढोका नखोलिनु मुख्य कारण हो । बाँधको ढोका खोल्न स्थानिय प्रशासनले आफ्ना भारतीय समकक्षीसँग निरन्तर संवाद गरेपनि भारतीय पक्षले टेरेको छैन ।
जिल्लाको इशनाथ नगरपालिकाको वडा नम्बर १ बन्जारामा लकडाउनको मौका छोपी भारतले निकै मजबुत र अग्लो बाँध निमार्ण गरेको थियो । भारतले सो बाँध भन्दा अग्लो र वर्षाको पानीले नभत्कने गरी वलियो बनाएको छ ।
निकास बिनाको बाँधकै कारण यस इशनाथ नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ वर्षामा पूर्ण रुपमा डुबानमा पर्दै आइरहेको छ । बाँधका कारण वर्षाको पानी निकास नहुँदा डुबानमा पर्ने मात्र होइन किसानहरुले लगाएका बालीनाली समेत नष्ट हुने गरेका छन् । भारतले जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६\५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर अग्लो बाँध बनाएको छ ।
बाँध करिब तीन किलोमिटर भन्दा लामो, पन्ध्र फिटभन्दा अग्लो र दश मिटरभन्दा बढि चौडाईको रहेको छ भने नेपालतर्फको वर्षाको पानी निकासका लागि एउटा ढोका समेत राखिएको छैन । यसले गर्दा वर्षा याममा सो क्षेत्र पूर्ण रुपमा डुबान परिरहेको छ ।
कुनै समयसम्म बाटो रहेको सो स्थानमा भारतले बिस्तारै बिस्तारै माटो थप्दै अग्लो बाँध बनाएको स्थानियको अनुभव छ । गौरका स्थायी बासिन्दा रहेका माधवकुमार नेपाल पटक–पटक सांसद, मन्त्री तथा प्रधानमन्त्री भइसक्दा पनि यो समस्याको समाधानको लागि ठोस पहल नगरेकोमा स्थानीयको गुनासो छ ।
नेपाली जमिन डुबानमा पर्दा भारतीय पक्षले बाँधको ढोका खोल्नुको सट्टा आफ्नो सुरक्षा गस्ती बढाउने गरेको स्थानिय बताउँछन् । अरु बेला रोटी बेटीको सम्बन्ध देखाउने भारतले बाढी तथा डुबानको बेला भने छिमेकीले देखाउने मानवता पनि बिर्सने गरेको छ । छिमेकी डुब्दा पनि टुलुटुलु हेर्ने व्यवहार भारतले देखाउने गरेकोमा स्थानिय भने आक्रोशित हुने गरेका छन् ।
नेपालमा बाढी तथा डुबान आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सामाजिक सञ्जालमा नेपालले भोगेको यो विपत्ति प्रति हाम्रो साथ छ र जस्तोसुकै सहयोग गर्न तयार छौ भन्दै लेखेका थिए । तर व्यवहारमा भने ठीक उल्टो गरेको भन्दै रौतहटका स्थानिय आक्रोशित हुन्छन् ।