News 24 Television
जेनजीमा राजनीतिक लहड, मतदाता नामावली जेनजीमय !

काठमाडौं । आगामी फागुन २१ गते गर्ने भनिएको प्रतिनिधिसभाको निर्वाचनमा सहभागिताका लागि युवा उत्साह बढेको देखिएको छ । मकवानपुरका युवाहरुमा यो उत्साह मतदाता नामावलीमार्फत झल्किएको हो । 

प्रतिनिधिसभाका लागि आगामी फागुन २१ मा हुने भनिएको निर्वाचनमा युवा सहभागिता बढ्ने देखिएको छ । मकवानपुरमा यो दृष्यको सम्भावना देखिएको हो । 

फागुन २१ को निर्वाचनका लागि निर्वाचन आयोगले प्रारम्भिक निर्वाचन तालिका समेत सार्वजनिक गरिसकेको अवस्थामा विगतका चुनावप्रति खासै चासो नदेखाएकाहरु हालैका राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनबाट प्रेरित भएर आफ्नो मताधिकार प्रयोगप्रति सचेत देखिएका छन् । 

जेनजीहरु आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका हुन् । हुनत, निर्वाचन होला कि नहोला भन्ने अन्यौलता कायमै छ, तरपनि निर्वाचनमा भाग लिन इच्छुक मतदाताहरु आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिन्छन् । 

प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेहरुको संख्या दिनहुँ बढ्दै जानु त्यसमा पनि जेनजीको सहभागिता बढी देखिनुले पनि युवा सक्रियता र सचेतताको संकेत गरिरहेको छ । 

जेन–जी प्रदर्शनले देशको राजनीतिमा नयाँ मोड ल्याएको बताउँदै अब जिताउने उम्मेदवार आफूहरुले छान्न पाउने भन्दै मतदाता नामावलीमा नाम दर्ता गराउन जेन–जी पुस्ताहरुमा उत्साह यसरी झल्किरहेको छ ।  

मतदाता नावावलीमा नाम दर्ता गराउन आउनेहरुमा अधिकांश १७ देखि २५ वर्ष उमेर समूहका युवाहरु धेरै छन् । विगतका चुनावमा मताधिकार प्रयोग गर्न चासो नदेखाएका युवाहरुले समेत आगामी फागुन २१ को चुनावप्रति चासो देखाएका छन् । 

हालसम्मको अवस्थामा मकवानपुरका ६ सय ९७ जनाले नाम दर्ता गराएका छन् । जसमा अधिकांश २५ वर्षभन्दा कम उमेर समूहका रहेको प्रदेश निर्वाचन कार्यालय, हेटौंडाले जनाएको छ । 

यता, मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधि अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगको वेबसाइटमा गएर फारम भरेपछि बायोमेट्रिकको लागि मात्रै निर्वाचन कार्यालय पुग्नुपर्ने बताइएको छ । यसबाट सेवाग्राहीलाई सहजता हुने र आयोगको सेवा प्रवाह डिजिटल रूपमा विस्तार हुँदा मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रिया छिटो, पारदर्शी र व्यवस्थित भएको निर्वाचन अधिकारी ढकाल बताउँछन् । 

२०७९ को आम निर्वाचनमा मकवानपुरमा कुल मतदाता ३ लाख २ हजार २४३ थिए । यो संख्यामा उल्लेख्य बृद्धि हुने अनुमान निर्वाचन आयोगको छ । हालैको ‘जेनजी’ आन्दोलनले जगाएको राजनीतिक चेतना र स्वतन्त्र उम्मेदवारहरूको उदयले युवाहरूलाई आफ्नो एक मतको शक्तिबारे सोच्न बाध्य बनाएको देखिन्छ । 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update