News 24 Television
सीकेविरुद्ध आफ्नै पार्टीका मुख्यमन्त्री सिंहको हुंकार, चुनावमा प्रतिष्पर्धी बन्ने चेतावनी

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश सभाको रोष्टमबाटै  घोषणा गरेको राजीनामा स्वीकृत भएको छ । मधेशको राजनीतिमा चलिरहेको तनावकाबीच सिंहको राजीनामासंगै अब मधेसमा नयाँ सरकार गठनको प्रयास तीब्र बनेको छ । 

सिंहलाई भने आफ्नै पार्टीका सांसदहरुले समेत साथ छाडेका थिए । त्यसपछि उनले जनमतका अध्यक्ष डा. सीके राउतमाथि आक्रोश पोख्दै चुनावी प्रतिष्पर्धि समेत बन्न सक्ने संकेत गरेका हुन् । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिसकुमार सिंहले विश्वासको मत लिने भन्दै अन्तिम तयारी गरेपनि उनले राजीनामाको बाटो रोजेका हुन् । राजीनामा दिदै सिंहले जनमत पार्टीका अध्यक्ष सीके राउतमाथि समेत आक्रोश पोखेका छन् ।

आफू मुख्यमन्त्री बनेकै दिनदेखि जनमत पार्टी मधेसका संसदिय दलका नेता महेश यादव काँग्रेससँग मिलेर षड्यन्त्र शुरु गरेकोदेखि लोकतन्त्रमा जनता भगवान हुनुपर्नेमा कार्यकर्ताबाट आफैँलाई भगवान भन्न लगाएको भन्दै अध्यक्ष राउतको आलोचना गरेका हुन् ।

सिंहले राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले राजीनामा स्वीकृत गरेकी छन्। उनको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान समेत गरेकी छन् । असोज २९ गते बेलुका ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुख भण्डारीले आह्वान गरेकी छन् ।

कांग्रेसका यादव मुख्यमन्त्री बन्ने !

उसोतः कांग्रेस एमालेले मधेस सरकार गठनका लागिअसोज २२ गते नै दाबी पेश गरिसकेका थिए । जसमा  नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई अघि सारिएको थियो । यादवलाई अघि सारिएकै दिन एमाले र जनमतले कांग्रेसलाई मुख्यमन्त्री दिने भन्दै दाबी पेश गरेका थिए । 

मधेश प्रदेशसभामा १०७ सदस्य छन् । जसमा सरकार बनाउन ५४ मत आवश्यक पर्छ। यस्तो अवस्थामा एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ गरी ५८ जना सांसदको समर्थनमा सरकार बन्ने दाबी गर्ने गरिएको छ । उसोतः एमाले, कांग्रेस र जनमतबिच ८ असोजमै कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो ।

सिंहको राजीनामापछि कांग्रेसका यादव मुख्यमन्त्री बन्ने देखिन्छ । तर, राजनीतिक रुपमा नयाँ समिकरण बन्ने स्थिति भएमा भने यो विषयले औपचारिकता नपाउने स्थिति समेत बन्न सक्छ । 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update