
दोलखा । दोलखाको धार्मिक तथा ऐतिहासिक सम्पदा भीमेश्वर मन्दिर आस्थाको केन्द्रबिन्दुका रूपमा परिचित छ । दैनिक रूपमा देशका विभिन्न भागबाट दर्शनार्थीहरूको भीड लाग्ने यो मन्दिरमा व्यवस्थापनको भने अभाव देखिएको छ । मन्दिर परिसरमा बनाइएका टहरामा ताला झुन्डिएका छन्, पुष्प तथा प्रसाद व्यवसायीहरु आफ्नो मनोमानी ढंगले टहरा बनाई व्यापार गरिरहेका छन् । यसले मन्दिर क्षेत्रलाई अव्यवस्थित बनाइरहेको देखिन्छ ।
यो हो दोलखाको धार्मिक तथा ऐतिहासिक सम्पदा भिमेश्वर मन्दिर । पछिल्ला वर्षहरुमा यो मन्दिर देशभरकालागि आस्थाको केन्द्रका रुपमा स्थापित छ । तर, यो मन्दिर व्यवस्थापनको क्षेत्रमा भने केहि चुकेको देखिन्छ ।
मन्दिर परिसरमा फुल र प्रसाद व्यवसायीहरू यत्रतत्र अव्यवस्थित रूपमा टहरा हालेर बसेका कारण मन्दिरको सौन्दर्य र व्यवस्थापनमा प्रश्न उठेको छ । यी व्यवसायीलाई व्यवस्थित गर्नका लागि १७ कोठाको टहरा निर्माण गरिएको थियो । तर, निर्माण सम्पन्न भएको एक वर्ष वितिसक्दा पनि अलपत्र अवस्थामा छ । यि टहरामा ताला झुन्ड्याएको छ ।
२०७९ सालमा बागमती प्रदेश सरकारको सहयोगमा टहरा निर्माण कार्य सुरु भएको थियो। प्रदेश सरकारबाट प्राप्त दस लाख रुपैयाँको सहयोगमा काम थालिएको भए पनि रकम अपुग भएपछि भिमेश्वर मन्दिरको खाताबाट थप चार लाख ९३ हजार ९ सय ५५ रुपैयाँ खर्च गरिएको थियो।
कुल चौध लाख तिरानब्बे हजार नौ सय पचपन्न रुपैयाँ लागतमा निर्माण गरिएको टहरा २०८१ सालको असार मसान्तमा सम्पन्न भएको थियो । तर निर्माण सम्पन्न भएको वर्ष दिन वित्दा पनि व्यवसायीहरू नयाँ टहरामा सरेका छैनन् । उनीहरूले भाडादर महँगो, सौचालय सुविधा अभाव, र ठाउँ कोल्टे भएको कारण देखाउँदै टहरामा पसल सार्न आलटाल गरि रहेका छन । झट्ट हेर्दा पनि नदेखिने,भाडा अत्यधिक तर सुविधा छैन, त्यसैले पुरानै ठाउँमा व्यवसाय गर्न बाध्य भएको व्यवसायी बताउछन् ।
यता, भिमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठका अनुसार प्रति वर्गफिट ४५ रुपैयाँको दर तोकी बोलपत्र आव्हान गरिएको थियो । व्यवसायीहरूकै प्रस्ताव अनुसार ४५ देखि ६९ रुपैयाँ वर्गफिटका दरमा आवेदन परेको थियो । तर, पछि कोही पनि आएर अन्तिम सम्झौता नगरेको भन्र्दै व्यवसायीहरूको अटेरले समस्या भएको बताउछन, अध्यक्ष श्रेष्ठ ।
केही कमजोरीहरू सुधार्ने काम भइरहेको र अब चाँडै वडाले सूचना जारी गरी मन्दिर क्षेत्र बाहिर फुल–प्रसाद बिक्री वितरणमा रोक लगाउने भिमेश्वर नगरपालिका–२ का अध्यक्ष स्टालिन श्रेष्ठ बताउछन् ।
धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको भिमेश्वर मन्दिरमा यस्ता अव्यवस्थाले मन्दिरको आकर्षणमा नकारात्मक असर पारेको छ । यदि मन्दिर व्यवस्थापन समिति र स्थानीय निकायले समयमै ध्यान नदिएमा फुल–प्रसाद व्यवसाय मात्र होइन, मन्दिरकै अस्तित्व र पर्यटन सम्भावनामा पनि ग्रहण लाग्ने खतरा देखिएको छ ।