
सप्तरी । खुल्ला सीमानाकाको सहजता भएकाले नेपालीहरु दैनिकी हजारौंको संख्यामा किनमेल गर्नका लागि भारतीय बजार जाने गर्दछन् । चाडपर्व आएसँगै यो क्रम अझ बढने गर्छ । अहिले तिहार र छठ नजिकिएसँगै नेपालीहरुले सप्तरीसँग जोडिएका भारतीय बजारमा मात्रै दैनिक एक करोड भन्दा बढी रुपैयाँ खर्चिरहेको देखिन्छ ।
जब चाडपर्व आउछ, वा एकैपटक धेरै सामग्रीको आवश्यकता पर्छ तब, सीमा क्षेत्रका प्राय मानिसहरु भारतीय बजारमा किनमेल गर्न जाने गर्छन् । अहिले तिहार र छठ पर्व नजिकिएसँगै किनमेल गर्न जाने नेपालीहरुले भारतीय बजार भरि भराउ छ ।
अन्य क्षेत्रमा जस्तै सप्तरी जिल्लासँग सीमा जोडिएका भारतीय बजार नेपालीहरुले भरिभराउ छन् । दैनिक घरायसी उपभोग्य वस्तुदेखी चाडपर्वको बेला आवश्यक सामग्री भारतीय बजारमा नेपाली मुद्रामै किनमेलको सुविधा र नेपाली बजार भन्दा सस्तो दरमा पाइने भएकोले सप्तरीवासी भारतीय बजार रुचाउने गर्छन् ।
स्थानीयका अनुसार सप्तरीको पुर्वी नाका तिलाठीबाट मात्रै भारतको कुनौली बजार दैनिक औसतमा तीन हजार जना भन्दा बढी जना किनमेल गर्न पुग्ने गरेका छन् । तीन सय भन्दा बढी पसल रहेको सो बजारमा किनमेल गर्ने नेपालीकै घुइँचो हुन्छ । भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु ल्याउँदै गरेका स्थानीय उपभोक्तासँग कुराकानी गर्दा उनीहरुले कम्तीमा दुई तीन हजार बजारमा खर्च भएको बताउँछन् ।
प्रति व्यक्तिले औसतमा दुई हजार मात्रै खर्च गरेपनि कम्तीमा ६० लाख रूपैयाँ दैनिकी बजार पुग्ने गरेको छ । चाडपर्वको बेलामा यो क्रम अझै बढ्ने गरेको छ ।
यो नाका बाहेक सप्तरी पश्चिममा सखडा, बेल्ही, बनैनियाँ, पातो लगायतका दर्जनौं ठाउँबाट नजिकको भारतीय बजारमा नेपाली जाने गरेका छन् । सो बजारबाट पनि दैनिकी लाखौं रुपैयाँ भारतीय बजार जाने गरेको अवस्था छ । भारतीय बजार गएका यी पैसा त्यहाँ नचल्ने भएकोले फेरि अवैध तरिकाले नेपाल आउने गरेका छन् ।
यस्ता आउने पैसा समय–समयमा भारतीय बोर्डर क्षेत्रमा पक्राउ पनि पर्छन्, तर कारोबार रोकिएको छैन् । राजविराज भन्सार कार्यालयको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०८०\०८१ र ०८१\०८२मा भारतीय क्षेत्रबाट ल्याउँदै गरेको स्रोत नखुलेको २२ लाख ६५ हजार रुपैयाँ जफत गरि सशस्त्र र नेपाल प्रहरीले बुझाएको छ । पाँच वटा मुद्धामा तीन वटा प्रमाण नभएकोले जफत भइसकेको छ भने दुई वटा प्रक्रियामा रहेको कार्यालयका सुचना अधिकारी विजय कुमार साह बताउँछन् ।
नेपाली बजारबाट खुल्ला रुपमै भारतीय बजारमा गइरहेको नेपाली पैसा अवैध रुपमा भित्रिने गरेको स्पष्ट छ । यसको लागि मुख्य नाका भन्दा छोटो नाकाहरु बढी प्रयोग हुने गरेको छ । यद्दपि, राज्यको नियामक निकायले तत्परता नदेखाउँदा यो क्रम नियन्त्रण गर्न सकिएको छैन् ।