News 24 Television
आगजनीले भ्रष्टाचारीलाई हाइसञ्चो, अनुसन्धानमा जटिलता

काठमाडौं । भदो २३ र २४गतेको जेनजी आन्दोलनका क्रममा राज्यका तीन वटै अंग ब्यवस्थापिका, कार्यापालिका र न्यायपालिकाका भवनहरु मात्र जलेनन् । ती भवनहरुसँगै ऐतिहासिक दस्तावेजहरु तथा अति महत्वपूर्ण र संवेदनशिल कागजहरु खरानी बनाइए । 

सामाजिक सञ्जालमाथिको आक्रोशसँगै भ्रष्टाचारविरुद्ध थालिएको भनिएको जेनजी आन्दोलनले आगजनीले भष्टाचार सम्बन्धीकै अनुसन्धान प्रक्रियालाई जटिल बनाएको छ । 

भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा गोली प्रहार गरी १९ जनाको ज्यान गएपछि दोस्रो दिन भदौ २४ गते मच्चिएको विध्वंशका कारण देशका प्रमुख प्रशासनिक केन्द्रदेखि न्यायलयसमेत ध्वस्त भए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालयका साथै गृह मातहतका प्रहरी कार्यालय तथा स्थानीय प्रशासनहरुमा आगजनी हुँदा महत्वपूर्ण फाइलहरु जलेर नष्ट भयो । 

खासगरी पछिल्लो समयमा ब्याप्त भ्रष्टाचार र कुशासनको विरुद्धमा भएको आन्दोलनमा प्रदर्शनकारीहरुको क्रोधले भ्रष्टाचार सम्बन्धकै महत्वपूर्ण फाइलहरु जलाइँदा अनुसन्धान प्रक्रियालाई नै जटिल बनाएको छ । 

संसद भवन, सिंहदरबार, सर्वोच्च अदालतको संरचनाका साथै प्रहरी कार्यालय र स्थानीय प्रशासनका भवनहरुमा आगजनी हुँदा सुरक्षा, अनुसन्धान र प्रशासनिक फाइलहरु नष्ट भएका छन् । मालपोत कार्यालयहरुमा भएको आगजनीका कारण मालपोतका श्रेष्ताहरु खरानी भए । 

जसले श्रेष्ता कायम गर्न जग्गा धनीहरुलाई आफ्ना सबै कागजातहरुका साथ कार्यालयमा उपस्थित हुन जग्गाधनीहरुलाई आह्वान गर्नुपरेको छ । 

काठमाडौं उपत्यकाभित्रका केन्द्रीय कार्यालयहरु मात्र नभई पोखरा, बुटवल, इटहरी, दमक लगायतका शहरहरुमा रहेका प्रादेशिक तथा स्थानीय सरकारी कार्यालयहरु पनि ध्वस्त पारिएका छन् । जसले गर्दा अनुसन्धान प्रक्रियालाई नै जटिल बनाएको छ । 

भ्रष्टाचारसम्बन्धी अनुसन्धानका फाइलहरू

विभिन्न मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित भ्रष्टाचारका मुद्दाहरू आन्दोलनका क्रममा आगजनी गरी ध्वस्त पारियो । 

राजनीतिक दलका नेताहरुको भ्रष्टाचारलाई समेत उजागर गर्ने ठूला आयोजनाहरूको अनियमितता, सरकारी खरिद प्रक्रिया लगायतका कागजातहरू खरानी बन्दा अनुसन्धान प्रक्रिया अघि बढाउन देखिएको छ । 

बाँसबारी छाला जुत्ता कारखाना जग्गा हिनामिना मुद्दाको फाइल

जेनजी आन्दोलनका क्रममा बाँसबारी छाला जुत्ता कारखाना जग्गा हिनामिना सम्बन्धी मुद्दाका फाइलहरु पनि जलेका छन् । उद्योगपति विनोद चौधरी तथा उनको परिवारसँग जोडिएको फाइलहरु जलेपछि भ्रष्टाचार सम्बन्धीको यो मुद्दाको अनुसन्धान प्रक्रिया पनि जटिल बनेको छ । 

शेरबहादुर देउवासँग सम्बन्धित राजनीतिक दस्तावेजहरू

भदौ २४ को विध्वंशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास ध्वस्त भयो । देउवा निवास आगजनी हुँदा त्यहा राखिएका पैसाहरु मात्र होइन, पार्टीका महत्वपूर्ण दस्तावजेहरुका साथै सम्भावित भ्रष्टाचारका प्रमाणहरु पनि जलेका छन् । 

रवि लामिछानेसँग जोडिएको सहकारी मुद्दाहरु

आन्दोलनको दोस्रो दिनको रापतापमा सर्वोच्च अदालत मात्र होइन, उच्च र जिल्ला अदालत समेत ध्वस्त बनाइए । काठमाडौं, पोखरा, बुटवल लगायतका जिल्लामामा रहेका अदालतहरु जलाइँदा सहकारी ठगी सम्बन्धीका महत्वपूर्ण मुद्दाका फाइलहरु पनि जलेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगीका काठमाडौं, पोखरा, बुटवलमा रहेका मुद्दाका फाइलहरु समेत जलाइएका छन् । 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्चदेखि जिल्ला अदालत सम्ममा रवि लामिछानेसँग जोडिएका मुद्दाका फाइलहरु खोजी खोजी जलाइएका थिए । जलेका फाइलको विवरण संकलन र बाँकी फाइलहरुको खोजी जारी नै रहेकाले के कति प्रमाणहरु फेला पर्छन्, निक्र्योल भइसकेको छैन । 

कुन कुन काण्डमा मिसिल भए खरानी ? 

काठमाडौं जिल्ला अदालतमा रहेका विभिन्न सहकारी ठगी सम्बन्धी मुद्दाहरुका साथै नक्कली भुटानी शरणार्थी, ललिता निवासमा लिखत किर्ते, बाल मन्दिर जग्गा प्रकरण, ६१ किलो सुन तस्करीजस्ता चर्चित मुद्दाका मिसिलहरु नष्ट भएका छन् । 

सर्वोच्च अदालतमा रहेका तत्कालिन माओवादी सशस्त्र युद्धका क्रममा भएका घटनाका महत्वपूर्ण फाइलहरु, ५२ संवैधानिक पदाधिकारीको फैसलाको पूर्णपाठ, छायाँदेवी कम्प्लेक्स, सुडान काण्ड, वाइडबडी विमान खरिद प्रकरण, मैना सुनुवारको हत्या प्रकरण, अन्तःशुल्क, एनसेलको कर ठगी जस्ता चर्चित मुद्दाका फाइल पनि नष्ट भएका छन् । 

विभिन्न अदालतमा भएको आगजनी र तोडफोडबाट  ९ लाख भन्दा बढी मुद्दाका मिसिल समेत नष्ट भएको बताइएको छ । जसले भ्रष्टाचारका महत्वपूर्ण मुद्दाहरुको अनुसन्धान झनै जटिल बनेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update