News 24 Television
एकै ठाउँमा सयौं फूलहरुले भरिएको ठाउँ ! सुन्दरतासँगै व्यापार पनि

काठमाडौं । जावलाखेल फुटबल मैदानमा गोदावरी फूल प्रदर्शनी जारी छ । एकै ठाउँमा ५० प्रकारका गोदावरी फूलहरु राखिएकाले यो क्षेत्र अहिले फूलले ढकमक्क छ । फूलले सुन्दरता मात्रै दिएको छैन, बजार पनि राम्रै पाएको छ । 

तिहार पर्व, अर्थात फूलहरुको पर्व । 

अनि यो फूलहरुले ढकमक्क भएको ठाउँ । एक होइन, दुई होइन, ५० थरिका गोदावरी एकै ठाउँमा राखिएको यो दृष्य जावलाखेल फुटबल मैदानमा जारी गोदावरी फूल प्रदर्शनीको हो ।  

फ्लोरिकलल्चर एशोसिएशन नेपालको आयोजना गरेको यो प्रदर्शनीले वातावरण फूलमय बनाएको मात्रै होइन, आयआर्जनलाई पनि तीव्रता दिइरहेको छ ।

१८ औं संस्करणको मेलामा गोदावरी र अन्य प्रजातिका गरि ४ सय ५० फूलहरु उपलब्ध रहेका छन् । गोदावरी फूलको विशेष प्रदर्शनी रहे पनि अन्य प्रजातिका फूलहरु पनि तिहार र छठ विशेषका लागि राखिएको व्यवसायीहरुको भनाइ छ । 

आफूसँग चालिसदेखि पचास प्रजातिका गोदावरी फूलहरु उपलब्ध रहेको पुष्प व्यवसायी कुमार बस्नेत बताउछन् । गत वर्ष प्रदर्शनीबाट पाँच लाख भन्दा बढी कारोबार गरेको व्यवसायी बस्नेत यस वर्ष पनि कारोबार राम्रो हुनेमा आशावादी छन् । 

दुई सयदेखि पन्ध्र हजारसम्मका फूलहरु आफूसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी ढकबहादुर कार्की बताउछन् । चाड पर्वहरुमा आवश्यक पर्ने फूलको माग पूर्ति गर्ने उद्देश्य रहेको र आफ्नो स्टलमा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका फूलहरु रहेको उनको भनाई छ । 

यता, व्यवसायी कृष्णराम थापाले पनि घर सजाउन प्रयोग गरिनेदेखि विभिन्न प्रजातिका फूलहरु राखेका छन् । यो मेला पुष्पमा रमाउने मानिसहरुले छुटाउन नहुने उनको सुझाव छ । प्रदर्शनीमा बजारको भन्दा सुलभ मूल्यमा फूलहरु पाइने उनको भनाइ छ । 

फूल फुल्ने, फूल नफुल्ने र फलहरु गरी तीन प्रजातीका विरुवाहरु आपूmसँग उपलब्ध रहेको अर्का व्यवसायी शुसील खड्काले बताउछन् । प्रदर्शनी प्रतिष्पर्धात्मक भन्दा व्यापारिक प्रयोजनका लागि भएको र आफूसँग सयदेखि पचास हजारसम्मका बिरुवाहरु उपलब्ध रहेको उनको भनाई छ । 

असोज २९ देखि शुरु भएको मेला कार्तिक २ गतेसम्म चल्नेछ । पाँच दिनसम्म सञ्चालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा चालिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आँकलन आयोजकको छ । साथै एक करोड तीस लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने आयोजकको अपेक्षा छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update