
सप्तरी । छठ पर्व नजिकिँदै गर्दा सप्तरीका डोम समुदाय बाँसका सामग्री बनाउन व्यस्त छन् । तर, मौलिकता छोड्दै पितल र स्टिलका सामग्रीको प्रयोग बढेसँगै पर्वको मौलिकता हराएको मात्रै होइन, परम्परागत पेशालाई पनि प्रभाव पारिरहेको छ ।
यि चिटिक्क परेका बाँसका सामग्री विशेषगरि छठ पर्वका लागि तयार गरिएका हुन् । तराईका अन्य जिल्लामा जस्तै यतिबेला सप्तरीका डोम समुदाय बाँसका सामग्री बनाउन व्यस्त छन् । कुनै समय थियो, जहिले छठमा बाँसका सामग्री विशेष प्रयोगमा आउथे ।
छठमा बाँसका सामग्रीको धेरै माग हुने त्यो समय अहिले भने छैन । अहिले बाँसका सामग्री किन्ने ग्राहक घट्न थालेका छन् । सप्तरीको छिन्नमस्ता, कञ्चनपुर, तिलाठी कोइलाडी, रुपनी लगायतका क्षेत्रमा बसोबास गर्ने डोम समुदाय वर्षौंदेखि बाँसका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका पनि छन् ।
उनीहरूले छठका लागि विशेष रूपमा ढकिया, सुपा, दउरा, डलिया लगायतका तयार पार्छन् । छठ नजिकिदै गर्दा उनीहरू आफ्नो पुख्र्यौली पेशामा लागेका पनि छन् । तर पहिला जस्तो व्यापार नहुने गरेकोले काममा उत्साह रहेको छैन् । पछिल्ला वर्षमा पितल र स्टिलका भाँडाका कारण परम्परागत बाँस उद्योग मन्द हुँदै गएको छ ।
पहिले छठ अघि बाँसका वर्तनका माग पूरा गर्न नसकिने अवस्था रहन्थ्यो, तर अहिले भने बिक्री घटेर उनीहरूलाई जीविकोपार्जनमा समेत समस्या हुन थालेको उनीहरू बताउँछन् । पहिले छठमा कमाइले वर्षभरि खान पुगेपनि अहिले एक महिनाको खर्च पनि नउठ्ने भएको छ ।
छठ लक्षित पुख्र्यौली पेशामा वर्तन बनाइरहेका एक युवाले अहिलेको अवस्थामा पेशाले दैनिकी जिवनयापन गर्ने अवस्था नरहेको बताउँछन् ।
स्थानीय बजारमा आधुनिक भाँडाको चटारो बढ्दै गए पनि डोम समुदाय अझै परम्परागत सीप जोगाउँदै बाँसका वर्तन बनाउन जुटिरहेका छन् । यसरी यहाँको अवस्था हेर्दा, सरकारी सहयोग र प्रोत्साहन नपाए परम्परागत सीप र संस्कृतिको लोप हुने खतरा बढ्दै गएको छ ।