
ओखलढुङ्गा । ओखलढुंगामा लाखौँ खर्चेर जडान गरिएका सौर्य सडक बत्ती अहिले अधिकांश नबल्ने अवस्थामा पुगेका छन् । राति सडक उज्यालो होस् भन्ने उद्देश्यले राखिएका सडक बत्ति संरक्षण र मर्मत सम्भारको अभावमा जिर्ण बन्दै गइरहेका हुन् । बत्ति जडान गरिएका पोलहरुमध्ये कतिपय रित्तै देखिन्छन् भने कतिपयमा ब्याट्री हराएका छन् । महँगो लागतमा बनेका संरचना प्रयोगविहीन बन्दै राज्यको लगानी बालुवामा पानी भएको छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले विशेषगरी वडा नम्बर ११ र १२ को बजार क्षेत्रमा विभिन्न चरणमा सौर्य सडक बत्ती जडान गरेको थियो । रातको समयमा पनि आवतजावतमा सहजता होस् र बजार क्षेत्रको सौन्दर्यमा थप टेवा पुगोस् भन्ने उद्देश्यले स्वचालित प्रणालीयुक्त बत्तीहरू स्थापना गरिएका हुन् ।
शुरुमा केहि समय ति बत्तीहरुले अपेक्षित प्रभाव देखाए । तर बत्तिहरुको आवश्यक संरक्षण र नियमित मर्मतसम्भार हुन नसक्दा हाल अधिकांश बत्तीहरु नबल्ने अवस्थामा पुगेका छन् ।
बजार क्षेत्रमा रहेका कतिपय पोल रित्तै छन, कतिपयमा ब्याट्री हराइसकेका छन् भने कतिपयमा बल्ब नै छैनन् । लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका यस्ता संरचना प्रयोगविहीन बन्दै गएपछि त्यसले न त आवतजावतमा सहयोग गरेको छ, न त नगरपालिकाले अपेक्षा गरेको सौन्दर्य र सुरक्षात्मक प्रभाव देखिएको छ ।
यता स्थानीय सरकारले पनि यस्तो समस्या देखिएको स्वीकार गर्दै दीर्घकालिन विकल्पका लागि आवश्यक बजेट ब्यवस्थापन सहित नयाँ योजना अघि सार्ने तयारी भइरहेको जनाएको छ ।
स्थानीयवासी र नगरपालिकाबीच समस्या समाधानका प्रयास जारी रहेको अवस्थामा, सौर्य सडक बत्तीको दीर्घकालीन प्रयोग र संरक्षण अझै चुनौतीपूर्ण देखिन्छ । लाखौँ खर्चमा बनेका यी संरचनाले सोचे अनुसारको उद्देश्य पुरा गर्न नसक्दा स्थानीयको जीवनशैली र बजारको उज्यालोपनमा प्रत्यक्ष असर पर्न थालेको छ ।
हाल सम्बन्धित निकायले समस्या स्वीकार्दै दीर्घकालीन समाधान खोज्ने तयारी गरिरहेकाले आगामी दिनमा सुधार र व्यवस्थापनको आशा राख्न भने सकिएला तर यस्तो अवस्थाले लाखाँै रुपैयाँको लगानी नियमित अनुगमन र मर्मतसम्भार नहुँदा कस्तो अवस्थामा पुग्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।