News 24 Television
तिहारमा व्यापार, भारतीय बजार गुल्जार, नेपाली बजार बेहाल

रौतहट । सीमावर्ती क्षेत्रका प्राय नेपाली उपभोक्ताहरु किनमेलका लागि भारतीय बजार जाने गरेका छन् । दशैं, तिहार र छठजस्ता प्रमुख पर्वका अवसरमा स्थानीय उपभोक्ताहरू भारतका बजारतर्फ आकर्षित हुँदा नेपाली बजारमा रौनक घटेको छ । भारतीय बजार नेपाली उपभोक्ताले भरिदा नेपालका बजारहरूमा व्यापारमा कमी आएको छ । मुख्य व्यापार हुने बेलामा नै व्यापार नभएपछि व्यवसायीहरु निराश बनेका छन् । 

यो दृश्य हो रौतहटको मुख्य भन्सार नाका गौर भन्सारको । नेपालीहरुको महानपर्व तिहार र छठ नजिकिदै गर्दा यसरी नै दैनिक हजारौं संख्यामा नेपाली उपभोक्ताहरु भारतको बैरगनियाबाट सामान खरिद गर्छन् ।  बैरगनियाका अलावा भारतका चैनपुर , घोडासान लगायतका बजारबाट सामान लिएर फर्कने संख्या ठुलो हुने गरेको छ ।  

रौतहटबाट नजिक रहेका सिमावर्ती बजारहरु बैरगनियामा, दैनिक ठुलो संख्यामा उपभोक्ताहरू सामान किनमेलका लागि जाने गरेका छन् । जसले भारतीय बजारहरूमा भीड बढ्दै गएको छ । 

सिमावर्ती क्षेत्रका नेपाली उपभोक्ताहरुको पहिलो रोजाई भारतीय बजार हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । पहिला दशैंको केही हप्ता अघिदेखिनै व्यापार बढ्ने गरेकोमा विगत केही वर्षदेखि भने नेपाली बजारमा चहलपहलमा निकै कमी आएको व्यवसायीहरु बताउँछन् । 

सस्तो मूल्य, सामानमा विविधता, र आकर्षक अफरका कारण नेपाली उपभोक्ताहरू भारतको बजारमा आकर्षित भएको व्यवसायीको भनाइ छ ।

रौतहटका मुख्य बजारहरु गौर, गरुडा, चन्द्रनिगाहपुर , कटहरियाहरुमा रहेका विभिन्न खाले पसलहरुमा उपभोक्ताको त्यति धेरै चहलपहल देखिएको छैन । नेपालमा उत्पादन लागत र कर प्रणाली, ढुवानी खर्च उच्च भएको कारण भारतीय बजारमा सामान सस्तो पाइने भएकाले उपभोक्ताहरू त्यतातर्फ तानिने गरेको व्यवसायीहरूको भनाइ छ । 

यसले गर्दा नेपाली साना तथा मध्यम व्यवसायीहरूलाई घाटा बेहोर्नुपर्ने गरेको गुनासो व्यवसायीको छ । सीमावर्ती बजारहरूमा उपभोक्ता पलायन बढेपछि देशभित्रको उपभोग घट्ने र स्थानीय उत्पादन तथा रोजगारीमा समेत प्रत्यक्ष असर पर्ने उनीहरूको तर्क छ । यसरी नै व्यापार कम भइरहने हो भने आफुहरु गर्दै आइरहेको व्यवसाय छाडेर पलायन हुनुको विकल्प नरहेको व्यवसायीहरुको गुनासो छ । 

व्यापारीहरूले सरकारलाई सीमा क्षेत्रमा मूल्य नियन्त्रण, कर सहजीकरण र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने नीति ल्याउन आग्रह गरेका छन् । गौर भन्सार कार्यालय लगायत अन्य भन्सारमा खटिएका सुरक्षाकर्मीले घरायसी उपभोगको लागि ल्याउने थौरै परिमाणका सामाग्रीहरुलाई सामान्य चेकजाँच गरेर छाड्ने गरेका छन् । 

नेपाली व्यवसायीहरु भने सरकारले भन्सारमा कडाइ गर्नुपर्ने, चोरी तस्करी जस्ता अवैध कृयाकलापहरु रोक्नुपर्ने माग गरेका छन् । नेपाली उपभोक्ता भारत गएर किनमेल गर्दा नेपालमा दर्ता भएर नेपाल सरकारलाई कर तिरिरहने व्यवसायीहरु मारमा परिरहने र राज्यलाई करौडौं कर नोक्सानी हुने भएकाले सरकार यस विषयमा गम्भिर हुनुपर्ने उनीहरुको भनाइ छ । 

स्थानीय उपभोक्ताहरूले भने सीमा नजिकको सहज यातायात र सस्तो मूल्यका कारण भारततिर किनमेल गर्नु आफूहरूको बाध्यता रहेको बताउँछन् ।

नेपाल र भारत बीच वर्षौदेखि रोटी बेटीको सम्बन्ध रहदै आइरहेको छ । देशैभर सिमावर्ती क्षेत्रमा बस्ने नेपाली उपभोक्ताको पहिलो रोजाई भारतीय बजार हुँदा यसले नेपाली व्यवसायहरुमा नराम्रो असर गरिरहेका छन् । यसले प्रवृत्तिले दीर्घकालमा नेपालको आन्तरिक बजार र उत्पादन प्रणालीमा नकारात्मक असर पर्ने अर्थविद्हरु बताउँछन् । त्यसैले ठोस नीति ल्याएर यस्ता प्रवृति रोक्न सरकार गम्भिर हुनैपर्ने देखिन्छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update