
रुपन्देही । तिहारमा प्लाष्टिकजन्य माला प्रयोग नगर्न सरकार र स्थानीय पालिकाहरुले आह्वान गरेका छन् । तर, रुपन्देही लगायत आसपासमा तराईका जिल्लाहरुमा भने प्रतिबन्धित मालाको खुलेआम खरिदविक्री भइरहेको छ भने, नियामक निकायले अवैध मालाको विक्री रोक्नेतर्फ खासै ध्यान दिएका छैनन् ।
स्वदेशी फूलको प्रबद्र्धन गर्न र वातावरण संरक्षण भन्दै सरकारले प्लाष्टिकका फूलमाला आयातमा रोक लगाए पनि यसको कार्यान्वयन पक्ष प्राय कमजोर नै देखिएको छ । सीमावर्ती जिल्लाहरुमा भने खुलेआम प्रतिबन्धित प्लास्टिकका माला विक्री भइरहँदा पनि नियामक निकायहरुले न्युनिकरण समेत गर्न सकेका छैनन् ।
तिहारलाई लक्षित गरेर अहिले रुपन्देही लगायत आसपासका तराईका जिल्लाहरुमा छ्यापछ्याप्ती प्लास्टिकका माला विक्रीका लागि राखिएका छन् । पाइलैपिच्छे प्रतिबन्धित प्लास्टिकका माला विक्री भइरहेका छन्, तर नियन्त्रण छैन ।
भन्सार कार्यालयहरुबाट अहिले यस्ता माला आयात पूर्णरुपमा रोकिएको छ । तर, नेपाल–भारत दुबै तर्फका व्यवसायी र घुमन्ते व्यापारीले नेपाली गाउँ–सहरमा प्रतिबन्धित माला भित्र्याएर विक्री गरिरहेका छन् । ठाउँठाउँमा तिहार लक्षित संचालित पसल र कतै हाटबजारहरुमा समेत प्लास्टिकका माला विक्री भइरहेका छन् । अवैध व्यापारबारे प्रशासनको भनाई के छ त ?
सबै पालिकामा उपप्रमुख तथा उपाध्यक्षको नेतृत्वमा र जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति छ । तर, यी सबै अनुगमन समिति प्रभावहीन छन् । जसले गर्दा बजारमा प्रतिबन्धित प्लास्ष्टिकका मालाहरुको कारोबार बढेको छ । सीमा क्षेत्रमा खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरुले समेत माला भित्र्याइरहेका छन् । सुरक्षा निकायमले समेत कुनै रोकतोक गरेको देखिँदैन ।
यसपटक तिहारका लागि स्वदेशमै प्रशस्त सयपत्री ,मखमली लगायतका फूल उत्पादन छ । तर, अवैध बाटोबाट प्रतिबन्धित प्लास्टिकको माला भित्रिँदा एकातर्फ यसले स्वदेशी पुष्प र प्लान्ट व्यवसायी मर्कामा छन् भने अर्कातर्फ करोडौंको राजस्व गुमिरहेको छ । अझ जथाभावी प्लाष्टिकका माला प्रयोगले वातावरणमा समेत नकारात्मक प्रभाव पारिरहेको छ ।
हुनतः प्लास्टिकका माला निषेधको घोषणा विपरीत बजारमा यसको कारोबार भइरहने कुरा नयाँ भने होइन । विगतमा पनि यस्तो घोषणा गरिएका थिए, तर कार्यान्वन पक्ष निकै फितलो थियो । यसपटक पनि उस्तै नियती दोहोरिएको छ ।
सरकारले आयातमा प्रतिबन्ध लगाएपछि भन्सार कार्यालयहरुले यसको कार्यान्वयन गरेका छन् । तर, अनुगमन नहुँदा सधैं मौकाको फाइदा उठाउने समूहले पने खुलेयाम प्रतिबन्धित प्लास्टिक मालाको अवैध बाटोबाट आयात गरी व्यापार गरिरहेका छन् ।
प्रतिबन्धिक प्लास्टिकका माला बजारमा निकै सस्तोमा विक्री हुँदा पुष्प व्यवसायीले लागत समेत उठाउन नसकेको गुनासो गरेका छन् ।