
दोलखा । ‘आफ्नो उत्पादन, आफ्नो बजार’ भन्ने नाराका साथ भिमेश्वर नगरपालिका–२ का सफल सहयात्री महिला उद्यमी समूहले रैथाने हाटबजार सञ्चालनमा ल्याइरहेका छन् । आफ्नै उत्पादनलाई प्राथमिकता दिदै शुरु गरिएको यो हाटबजारले दोलखामा स्थानीय उत्पादनको व्यावसायिक सम्भावनामा नयाँ उत्साह थपेको छ ।
दोलखा भिमेश्वर मन्दिर प्रवेश गर्ने पाखल्ती चोकमा अचेल बिहानैदेखि महिलाहरुको चहलपहल बढ्ने गरेको छ । एकाविहानै महिलाहरु कोही बोरा ओछ्याउँदै गरेका देखिन्छन् त, कोही बोराको मुख खोल्दै गरेका देखिन्छन् । कोहि भने डोको, थुन्चे र काँखमा ल्याइएका तरकारी, फलफूल, दूध–दही र स्थानीय परिकारहरू चोकमा थुप्रिँदै गरेका देखिन्छन् ।
यि सबै महिला उद्यमीहरु हुन् । ‘आफ्नो उत्पादन, आफ्नो बजार’ भन्ने नाराका साथ भिमेश्वर नगरपालिका–२ का सफल सहयात्री महिला उद्यमी समूहले रैथाने हाटबजार सञ्चालनमा ल्याएसँगै महिलाहरु विहानैदेखि सक्रिय देखिएका हुन् । महिलाहरूमा आत्मविश्वास र उत्साह पनि त्यात्तिकै भरिएको देखिन्छ ।
कृषि उत्पादनले बजार नपाउँदा किसानहरूमा निराशा बढ्दै गएको बेला महिला उद्यमीहरूको पहलमा सुरु भएको यो बजारले किसानहरूलाई पुनः उत्पादनतर्फ आकर्षित गरेको छ ।
स्थानीयवासीका अनुसार, दोलखामा दशकौँअघि यस्तै हाटबजार सञ्चलनमा थियो, तर विविध कारणले रोकिएको थियो । अहिले सफल सहयात्री महिला समूहको सक्रियतामा पुनः सञ्चालन भएपछि स्थानीयवासीहरू निकै उत्साहित भएका छन् ।
महिला उद्यमीहरुका अनुसार अब आफुहरुले उत्पादन गरेका तरकारी, फलफूल र अन्य सामग्री यही बजारमै बिक्री गर्न सक्ने भएकाले आफुहरुलाई अझ बढी उत्पादन गर्न हौसला दिएको बताउछन् । साथै खाएर बचेको बिक्री गर्न सकिने,साना तिना समस्या सहजै टार्न सकिने भन्दै उनीहरू हर्षित भएका छन् ।
हाटबजारमा दोलखा, सुनखानी, राम्पा लगायत क्षेत्रका किसानहरूले उत्पादन गरेका सुन्तला, जुनार, अम्बा, गुन्द्रुक, लोकल भाले ,कोदो, मकै, दूध–दहीका परिकार, साथै स्थानीय सीपका धूप, चकटी लगायतका सामग्रीहरु देख्न सकिन्छ । स्थानीय व्यवसायलाई प्रवद्र्धन गर्न होटेल व्यवसायीहरूले साथ दिएका छन् ।
दि पुचुर्खा होटलका व्यवस्थापक अजय प्रधानले हामी आफ्ना होटलहरूमा स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने र यसले महिला उद्यमीहरूलाई प्रोत्साहन मिल्नेछ भन्नेमा विश्वस्त रहेको बताउँछन । स्थानीय ब्यापारहरु स्थानीयले नै साथ सहयोग दिएमा मात्रै टिकाउन सकिने उनको भनाइ छ ।
यता, भिमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ पनि महिलाहरुको सक्रियता देखेर खुशी छन् । त्यसैले पनि उनले हाटबजारलाई निरन्तरता दिन वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । टाढाबाट आउने व्यापारीका लागि भण्डारण सुविधा र बजार व्यवस्थापनमा सहजता प्रदान गरिने उनी बताउछन् ।
साना उद्यमीहरूको संख्या बढ्दै गए पनि चुनौतीहरू भने अझै कायम छन् । सडकमै व्यापार गर्नु जोखिमपूर्ण हुनुका साथै बजारलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न व्यवस्थापनका समस्या देखिएका छन् । तर, पनि स्थानीय तह र सफल सहयात्री महिला समूहको सहकार्यमा सुरु गरिएको यो पहल दोलखाको आर्थिक र सामाजिक विकासतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ ।