News 24 Television
मौलिक देउसी–भैलोको दुर्लभ झलक ! चन्द्रपुरवासी संरक्षण अभियानमा

रौतहट । तिहारमा खेलिने मौलिक देउसी–भैलो हाम्रो सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश हो । पहिलेको समयमा देउसी–भैलो दशैं र तिहारका अवसरमा गाउँ–गाउँमा युवा, बालबालिका र ज्येष्ठ नागरिक समूह बनाएर घर–घरमा गएर मौलिक देउसी भैलो भट्याएर देउसी खेल्ने चलन रहेको थियो । मौलिक बाजागाजा, मौलिक गीत रौनकनै बेग्लै हुने देउसी–भैलो अहिले हराउँदै गएको छ । 

तिहारमा खेलिने मौलिक देउसी–भैलो हाम्रो सांस्कृतिक पहिचानको महत्वपूर्ण अंश भएपनि अहिले हराउदै गएको छ । सबै उमेर समूहका व्यक्तिहरुले समूह–समूह बनाएर देउसी–भैलो खेल्ने अनि यसक्रममा बजाइने बाजादेखि गाइने गीतसम्म मौलिक प्रकृतिका हुन्थे । 

मौलिकतामा मिसिएको मिठासले आपसी मेलमिलाप, खुशी र सामाजिक एकता बढाउने काम गथ्र्यो । तर अहिले आधुनिकता, पाश्चात्य संस्कृतिको प्रभाव र नयाँ पुस्ताको चासो घट्दा मौलिक देउसी–भैलो हराउँदै गएको छ । माइक र रेकर्डेड गीतहरूले पुरानो लोकधुन र नाचलाई विस्थापित गरिरहेका छन् । यद्दपि, उहि पुरानै मौलिकता वर्षौंदेखि जोगाउदै आएको छ, रौतहटको चन्द्रपुर नगरले । मौलिककला संस्कृति संरक्षण र नवपुस्तामा धर्म, संस्कृतिप्रतिको जनचेतना जगाउने उद्देश्यले चन्द्रपुर नगरपालिकामा हरेक वर्ष झैँ यस वर्ष पनि सडक देउसी–भैलो कार्यक्रम गरेको छ ।

यहाँका नागरिक समाजले स्वतः स्फुर्त रुपमा विगत १० वर्षदेखि सामुहिक रुपमा सडक देउसीभैलो खेल्ने गरेका छन् । सो सडक देउसीभैलोमा चन्द्रपुरका नागरिक समाज, युवा, व्यापारी, जनप्रतिनिधि तथा समाजसेवीहरूको संयुक्त प्रयासमा आयोजित यो कार्यक्रमले नगरकै सांस्कृतिक पहिचान झल्काउने काम गरेको छ । यस देउसी–भैलो कार्यक्रमलाई नगरवासीले सांस्कृतिक उत्सवको रूपमा लिन थालेका छन् ।

कार्यक्रममा सहभागीहरु ढाका टोपी तथा परम्परागत पोशाकमा सजिएर सडकमा नाचगान गर्दै देउसी–भैलो खेलेका थिए । सहभागीहरु मौलिक देउसी भाका भट्टाएर चन्द्रनिगाहपुर मेन चोकको सडकमा“देउसी रे...भन्दै हिडेका थिए ।

परम्परागत देउसी भाकासँगै लोकगीतसँगै स्थानीय बाजागाजाको तालमा सहभागीहरु नाच्दै गाउँदै रमाएर सडक परिक्रमा गरेका  थिए । यसले नगरमा साँस्कृतिक एकता र सामाजिक सद्भाव झन् बलियो बनाएको स्थानीयवासीहरूको भनाइ छ । नागरिक समाजका अगुवाहरूले चन्द्रपुरलाई सांस्कृतिक नगरको रूपमा स्थापित गर्ने उद्देश्यसहित आगामी वर्षको कार्यक्रमलाई अझ बृहत् रूपमा अगाडी बढाउने योजना बनाएका छन् ।  

आजको नयाँ पुस्ता मोबाइल र सामाजिक सञ्जालमा अल्झँदै जाँदा आफ्नो मौलिक संस्कृति बिर्सिंदै गइरहेको छ । त्यसैले सडक देउसी–भैलोको परम्परा निरन्तरता दिनुपर्ने स्थानीयको भनाइ छ । आफ्नो मौलिक संस्कृति, परम्परा जोगाउँदै नयाँपुस्तालाई यसको महत्व बुझाउन यो देउसी कार्यक्रम महत्वपूर्ण हुने स्थानीयको बुझाइ छ । 

सबै जात, धर्म, संस्कार, दलगत स्वार्थबाट माथि उठेर सबै मिलेर खेलिएको यो सडक देउसी–भैलोले आपसी सद्भाव र एकताको सन्देश प्रवाह भएको र यसलाई निरन्तरता दिन पालिकाले पनि सक्दो सहयोग गर्ने जनप्रतिनिधि बताउँछन् ।

मौलिक देउसी–भैलो हाम्रो नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक परम्परा हो, जसले एकता, सहयोग र खुशीको सन्देश फैलाउँछ । तिहारको अवसरमा गाइने देउसी–भैलोले सामाजिक सम्बन्ध मजबुत बनाउने, आपसी सद्भाव बढाउने र धार्मिक आस्था प्रकट गर्ने अवसर प्रदान गर्छ । 

यस परम्पराले गाउँ–टोलका मानिसहरूबीच प्रेम, भाईचारा र सहकार्यको भावना विकास गर्छ । त्यसैले चन्द्रपुरवासीले खेल्ने सडक देउसी–भैलो कार्यक्रम चन्द्रपुरमा केवल मनोरञ्जनका लागि नभई संस्कृतिको जगेर्ना, एकता र सामाजिक चेतनाको प्रतीकका रूपमा विकसित हुँदै गएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update