रानीपोखरी\बालगोपालेश्वर । काठमाडौको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर बिहीबार भाइटीकाको दिन विहानैदेखि खुला भएको छ । हरेक वर्ष तिहारको भाइटीकाको दिन मात्रै यो मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिन्छ ।
दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन मन्दिर खुला गर्ने गरिएको हो । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यो मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
यो हो काठमाडौं रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर । यो वर्ष पनि यो मन्दिर विहानैदेखि खुल्ला छ । जहाँ बालबालिकादेखि वृद्धवृद्धासम्म मन्दिरको दर्शन गरी भाइटीका लगाउन आएका छन् । भाइटीका प्रयोजनकै लागि कात्तिक शुल्क पक्षको द्वितिया तिथिमा पर्ने भाइटीका दिन मात्रै बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिन्छ ।
हरेक वर्षजस्तै यो वर्ष पनि दिदीबहिनीहरु भाइटीका लगाइदिन भनी मन्दिरमा लहरै बसेका छन् । उनीहरुले भाइटीका लगाउन आएकाहरुलाई सप्तरंगी टीका लगाइदिनुका साथै मखमली फूलको माला पहिराइदिएका छन् ।
दिदीबहिनी नहुनेहरु तथा दिदी बहिनी भएर पनि टीका लगाउन जान नपाएकाहरु यहाँ आएर दिदीबहिनीको हातबाट भाइटीका लगाउने परम्परा छ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाइ दिन्छन् । भाइटीका दिदीबहिनीहरूले दाजुभाइलाई लगाउने टीका र आशीर्वादको प्रतीक हो ।
जसले दाजुबहिनी÷दिदीभाईबीचको अटुट सम्बन्ध गाँसिएको हुन्छ । दिदी बहिनीहरु भएर पनि बाध्यताका कारण घरबाट टाढा हुँदा भाइटीका लगाउने नपाएकाहरु पनि बालगोपालेश्वर मन्दिरलाई साक्षी राखेर भाइटीका लगाउने गर्दछन् । दिदी बहिनी नभएकाहरुले पनि यहाँ दिदीबहिनी बनाएर टीका लगाउँन पाउने मन शान्त हुने बताउँछन् ।
यो वर्ष भाइटीकाको उत्तम साइत विहीबार विहान ११ बजेर ३९ मिनेटमा भए पनि विहानदेखि नै मन्दिरमा भाइटीका गरिएको थियो ।
बालगोपालेश्वर मन्दिरको दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्दै आएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्पका कारण मन्दिर भत्किएपछि पुनर्निर्माणका लागि चार वर्ष बन्द भएको थियो । २०७७ सालमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि पुनः भाइटीकाको दिन भक्तजनका लागि खुला गरिएको हो ।

