News 24 Television
पहाड र तराईको मिठाई सेल र ठेकुवा, सांस्कृतिक पुल बन्दै

काठमाडौं । नेपालको सांस्कृतिक विविधतामा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको छ । पहाडी क्षेत्रमा मनाइने तिहारको सेलरोटी र तराई क्षेत्रको प्रशिद्ध पर्व छठको ठेकुवा जस्ता परम्परागत परिकारले देशका विभिन्न भूभागलाई जोड्ने काम गरेका छन् । 

हरेक वर्ष छठ मनाउन पहाडबाट तराई मधेश छरेकाहरु ठेकुवा कोशेली बोकेर फर्कन्छन् भने पहाडबाटै सेलरोटी तरार्इँसम्म पुगिरहेको छ । यसरी यी दुवै मिठाईका परिकार नेपाली एकताको प्रतिक बनेका छन् भने तराई र पहाडका समुदायहरूलाई सांस्कृतिक रूपमा नजिक ल्याउन पुलको काम पनि गरिहरहेका छन् । 

तिहार र सेलरोटी 

तिहार, जसलाई दीपावली पनि भनिन्छ । नेपालको पहाडी र हिमाली क्षेत्रमा विशेष रूपमा मनाइन्छ । यो पाँच दिनसम्म चल्ने पर्व हो जसमा काग, कुकुर, गाई, लक्ष्मी र भाइटीकाको पूजा गरिन्छ । यस पर्वमा सेलरोटी अपरिहार्य हुन्छ । 

सेलरोटी चामलको पिठोबाट बनाइने गोलाकार, तेलमा तारेर तयार गरिने मिठाई हो जसलाई परिवार र आफन्तहरूसँग बाँडेर खाइन्छ । यो दशैं तथा तिहार जस्ता चाडहरूमा देवताहरूलाई चढाइने र परिवारमा बाँडिने परम्परा छ । 

छठ र ठेकुवा

छठ पर्व तराई क्षेत्रका मधेसी, थारू र मैथिली समुदायमा विशेष रूपमा मनाइन्छ । यो चार दिनसम्म चल्ने पर्वमा सूर्यको पूजा गरिन्छ । 

जसमा निर्जला व्रत बसिन्छ र सूर्योदय तथा सूर्यास्तमा अघ्र्य दिइन्छ । यस पर्वमा ठेकुवा मुख्य प्रसाद हो । ठेकुवा गहुँको पिठो, गुड, घिउ र मसला मिसाएर बनाइने कुरकुरे बिस्कुट हो । जसलाई छठी माईको मनपर्ने भोजन मानिन्छ । 

यो मध्यरातमा तयार गरिन्छ र पूजापछि परिवार र समुदायमा बाँडिन्छ । ठेकुवा प्रकृति, स्वास्थ्य र समृद्धिसँग जोडिएको छ । यसले चिसो मौसममा ऊर्जा प्रदान गर्छ । पानीका श्रोतहरुको पूजा र सफा राख्ने परम्पराका कारण छठ पर्वले पर्यावरण संरक्षणको सन्देश पनि दिन्छ । 

सांस्कृतिक पुल बनेको परिकार 

नेपालको भौगोलिक विविधताले तराई र पहाडका संस्कृतिहरू अलग जस्ता देखिन्छन् । तर सेलरोटी र ठेकुवा जस्ता खानपानले यी क्षेत्रहरूलाई एकताको सूत्रमा बाँधिरहेका छन् । पहाडी क्षेत्रमा तिहार मनाउँदा सेलरोटी तराईमा पुग्छ र छठमा ठेकुवा पहाड उक्लन्छ । यी मिठाईहरू नेपाली एकताको प्रतीक बनेका छन् । 

सेलरोटीले पहाडको उत्सव र एकतालाई प्रतिनिधित्व गर्छ भने ठेकुवाले तराईको प्रकृति र आध्यात्मिकतासँग जोड्छ । पछिल्ला वर्षहरूमा छठ पर्व पहाडी क्षेत्रमा पनि धुमधामले मनाउन थालिएको छ । काठमाडौंमा तराईबासीहरुले छठ मनाउँदा पहाडी समुदाय पनि सहभागी हुन्छन् । सेलरोटी–ठेकुवाको आदानप्रदान हुन्छ । 

आज सेलरोटी र ठेकुवा नेपाली स्वादका प्रतिनिधि मात्र होइनन् यिनीहरूले तराई र पहाडलाई जोड्ने काम पनि गरिरहेका छन् । यी चाडपर्वहरूले नेपालको विविधतामा एकता दर्शाउँदै सांस्कृतिक सद्भावको सन्देश पनि फैलाइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update