पर्सा । हिन्दु धर्मावलम्बीको महानपर्व छठ सुरु भएतापनि पर्सा जिल्लामा बग्ने सिर्सिया नदी कालो र दुर्गन्धित छ । नदी किनारमा रहेका उद्योगहरुको बदमासीका कारण पवित्र नदी प्रदुषित नालामा परिणत भएको हो ।
प्रत्येक वर्ष छठ पूजाका लागी भन्दै प्रशोधित पानी नदीमा विसर्जित गर्ने गरिन्थ्यो । तर यसवर्ष स्थानीय प्रशासनको निर्देशनलाई लत्याउदै उद्योगहरुले अटेर गर्दा छठपर्व सुरु भइसक्दापनि सिर्सिया नदीमा फोहोर पानी बगीरहेको छ । जसका कारण यस क्षेत्रका बासिन्दाहरुलाई प्रदूषित नदीमै छठ मनाउनुपर्ने बाध्यता छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिकाको राम वनमा अवस्थित सिर्सिया नदी वीरगञ्जसम्म आईपुग्दा कालो र दुर्गन्धित हुने गर्दछ् । उद्योग कलकारखानाहरुको बदमासीका कारण कलकल बग्ने पवित्र नदीनाला प्रदुषित बन्न पुगेको हो ।
प्रकृति बिना मानवजीवनको परिकल्पना गर्न नसकिने भन्दै हिन्दु संस्ृकतिमा हरेक प्राकृतिक श्रोतलाई देवीदेवता मानेर पूजा गर्ने गरिन्छ । त्यस्तै नदीलाई समेत पूज्ने गरिन्छ । कुनै समय कात्तिक महिनामा स्थानीयहरु सिर्सिया नदीमा स्नान गर्न आउँथे । तर नदीको वर्तमान अवस्थालाई हेर्दा अघिल्ला पुस्ताले गरेको वर्णन अहिलेका पुस्ताका लागी किम्बदन्ती झैँ लाग्छ ।
सिताको नामबाट नामाकरण गरिएको सिर्सिया नदीले आध्यात्मिक दृष्टिकोणबाट निकै महत्व राख्दछ । तर अहिले नदी ढलमा परिणत हुनुका साथै अतिक्रमणको चपेटमा जकडिएको छ । जसलाई फुत्काउन निकै सकस भइरहेको छ ।
नदीको सरसफाई तथा संरक्षणका लागी भन्दै थुप्रै पटक सडकदेखी सदनसम्म चर्काे आवाज उठाइयो, प्रतिवेदन बुझाउनेदेखी उद्योगहरुको परिसरमा फोहोरको डुंगुर फ्याक्ने दोषीलाई जरिवाना समेत गरियो । तर न नदीको अवस्थामा कुनै परिवर्तन आयो न उद्योगीहरु नै जिम्मेवार बने ।
अहिल तराई मधेशकै महानपर्व छठ सुरु भएको छ । सिर्सिया नदीपनि छठ मनाइने मुख्य स्थान मध्ये एक हो । तर नदिको अवस्था यस्तो दयनीछ छ कि व्रतालुहरुले फोहोर पानीमै डुबेर अघ्र्य दिनुपर्ने बाध्यता छ ।
पवित्र पर्वको बेलापनि यसरी नदी प्रदुषित हुनु भनेको उद्योगले प्रशासनको निर्देशनलाई ठाडै चुनौती दिएको छठपूजा व्यवस्थापन समिति रानीघाटका अध्यक्ष रञ्जन सिंह राठौर बताउछन् ।
सरोकारवाला निकायको बैठक तथा अनुगमनमा उद्योग प्रतिष्ठानको प्रतिनिधित्व गर्दै वीरगञ्ज उद्योग वाणिजय संघ पनि सहभागी हुने गरेको छ । नदी प्रदूषणको विषयमा उनीहरुले दोषीलाई कारवाही गर्नुपर्ने बताउँछन् ।
यसरी उद्योगहरुले धर्म संस्कृतिलाई ठाडो प्रहार गरेतापनि स्थानीय प्रशासन भने लाचार देखिएको छ । केही समय अघिमात्रै वीरगञ्ज महानगरपालिकामा सिर्सिया नदी सफाई तथा संरक्षण सम्बन्धी बैठकमा स्थानीय प्रशासनले अनुगमन गर्ने र दोषी देखिए कारवाही गर्ने चेतावनी दिदै सचेत हुन सम्बन्धीत सबै उद्योगलाई निर्देशन दिएको थियो । तर ति उद्योगहरुले प्रशासनको चेतावनी र निर्देशनलाई लत्याउदै मनोमानी गरिरहेका छन् ।
यसले स्थानीय प्रशासनको क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । यही प्रश्न पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीलाई गर्दा उनले पर्सा जिल्लाका उद्योगहरुले नदी प्रदूषित नगरेको दाबी गरे । आफूहरुले अनुगमन जारी राखेको र छठपश्चात पुन बैठक बसी नदी फोहोर गर्ने उद्योगलाई चेतावनी दिने उनले बताए ।
यता सिर्सिया नदी प्रदूषिणको विषयले चर्चा पाएपछि वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदीको प्रदूषण नियन्त्रण र सफाइका लागि तीव्र कदम चालेको छ । महानगरका मेयर राजेशमान सिंहले पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरूलाई बोरिङमार्फत शुद्ध पानी नदीमा मिसाउन निर्देशन दिएका छन् ।
दशैँताका अविरल वर्षाका कारण सिर्सिया नदीमा आएको बाढीले गर्दा नदी केही हदसम्म स्वच्छ भएको थियो । यो अवस्थामा उद्योगहरुले समन्वय गरेको भए पक्कैपनि नदी सफा भइसक्थ्यो । तर यसतर्फ उद्योगहरुले खासै चासो देखाएनन् ।
वास्तवमा नगरका विभिन्न मठमन्दिर, विद्यालय लगायत विभिन्न धार्मिक तथा सामाजिक कार्यमा करोडौँ खर्च गर्ने उद्योगहरु आस्था र निष्ठाको पर्व छठका लागि महत्वपूर्ण मानिने सिर्सिया नदीको सरसफाईमा भने किन भाग्छन्, उदेकलाग्दो विषय बनेको छ ।
