News 24 Television
तराईलाई माथ खुवाउने पोखराको छठ माहोल, पहाडी समुदायको बढ्यो आकर्षण

कास्की । पहाड र तराईलाई जोड्ने महान् धार्मिक पर्व छठ नजिकिँदै गर्दा पोखरामा तयारी पूरा भएको छ । पहाडी र तराई समुदायबीचको सांस्कृतिक एकताको प्रतिक बनेको यो पर्व पोखरामा पनि धुमधामका साथ मनाउने तयारी गरिएको छ । 

पोखरामा छठ पर्वको तयारी पूरा भएको छ । तराई मूलका मात्र होइन, अहिले पोखराका पहाडी समुदायका मानिसहरू पनि यो पर्वमा उत्साहपूर्वक सहभागी हुने क्रम बढ्दै गएको छ । यसै क्रममा पोखराको फेवाताल किनार नजिकैको केदारेश्वर मन्दिरको क्षेत्रमा रहेको पार्वती छठघाटमा छठ पर्व मनाउन घाट निर्माण, रङ्गरोगन तथा सरसफाइका कार्य गरिएको छ  । 

पार्वती छठघाटमा नेपाल भारत व्यवसायी छठ पूजा समितिको आयोजनामा छठ पुजा हुँदै आएको छ । कार्तिक १० गते सोमबार अपरान्ह साढे ३ बजेदेखि साँझ ७ बजेसम्म र ११ गते मंगलवार बिहान साढे ३ बजेदेखि बिहान ७ बजेसम्म छठपूजा गरिने केदारेश्वर मन्दिर छठ पूजा उपसमितिले जनाएको छ । 

उपसमितिका अनुसार २०६८ सालदेखि केदारेश्वर मन्दिरको घाटमा छठ पूजा गर्न थालिएको हो । छठ मनाउनका लागि केही दिन अगाडिबाटै सरसफाइ लगायतका कार्य गर्दै पूजालाई व्यवस्थित बनाउन तयारी पूरा भइसकेको छठ पूजा उपसमिति उपाध्यक्ष्य प्रदीप कुमार गुप्ता बताउँछन् ।

अस्ताउँदो सूर्यको उपासनाबाट शुरु भएर उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सकिन्छ । छठमा छठी माताको पूजा जलाशयहरूमा गरिन्छ । पोखरामा पनि नदीपुरको नारायणस्थान मन्दिर परिसर,  रिठ्ठाघाट त्रिवेणीधाम, सेतीनदी किनारा कालिखोला र केदारेश्वरमा छठ पूजा मनाउने गरिएको छ ।

पुजा कार्यक्रममा तराईका विभिन्न जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारका लागि नेपाल आएर परिवारसहित बसोवास गर्दै आइरहेकाहरू सहभागी हुन्छन् । पहिले तराईबासी र भारतीयहरूले धुमधामका साथ मनाइने छठ पर्व अहिले पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ । पहाडी क्षेत्रमा समेत मनाउन थालेसँगै यो पर्वले धार्मिक एकता मजबूत गराएको केदारेश्वर मन्दिर छठ पूजा उपसमितिका उपाध्यक्ष प्रदीप कुमार गुप्ता बताउँछन् ।

छठ पर्व अब केवल तराईको पर्व मात्रै नभई पहाड र तराईलाई जोड्ने साझा सांस्कृतिक उत्सव बनेको छ । पोखराका फेवातालदेखि सेतीनदीका किनारसम्म अहिले भक्ति, श्रद्धा र उत्साहको माहोल छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै मनाइने छठले धार्मिक श्रद्धासँगै एकताको सन्देश दिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update