News 24 Television
मौसम बदली तीव्र, बुधबार केही सुधार, विहीबारदेखि झनै जोखिम !

काठमाडौं । अहिले नेपालको मौसममा तीव्र बदली भइरहेको छ । उच्च हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको छ भने, पहाड र तराईका केही क्षेत्रमा वर्षा भइरहेको छ । कतै मौसम नखुलेको धुम्म अवस्थामा छ । देशभर मौसम बदली भइरहेका समय यो अवस्था कहिलेसम्म रहला ? अनि कहाँ कस्तो सावधानी अपनाउनु पर्ने देखिन्छ त ? 

यतिबेला नेपालका अधिंकाश क्षेत्रमा मौसम बदली भइरहेको छ । हिमाली क्षेत्रहरुमा हिमपातसहित पहाड र तराईका केही क्षेत्रहरुमा वर्षा भइरहेको छ । अहिले नै उच्च हिमपात र उच्च वर्षा नभएपनि मौसममा आएको यो बदलीले हिमाली क्षेत्रको जनजीवन अन्य क्षेत्रभन्दा बढी प्रभावित देखिएको छ । साथै, मंगलबार विहानैदेखि मौसममा आएको गडबडी अझै केही दिन रहने छ । मंगलबार उच्च पहाडी र हिमाली क्षेत्रमा मौसम बदलीको प्रभाव बढी रहयो । ट्रेकिङमा रहेकाहरुलाई सुरक्षित स्थानमा राख्नु पर्यो भने उद्दारका लागि तयारी अवस्थामा बस्नु पर्ने अवस्था छ । 

किन भइरहेको छ नेपालको मौसममा बदली ?

-    बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्दैछ । 

-   हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको 


मोन्था चक्रवातले कहाँ कस्तो पार्नसक्छ प्रभाव ?

-   मोन्था प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरि कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना 

-   यसको प्रभाव वागमती प्रदेश र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना 

-    चक्रवातको प्रभाव बिहीवार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिबारदिउँसो) सम्म रहने पूर्वानुमान 

-    यस अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना 

-  हाल ठूला नदीहरूको वहाव सामान्य अवस्थामा भएपनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना

-   बागमती र कोशीजस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम

-   नदी सतह सतर्कता तहसम्म पुग्नसक्ने भएकाले सतर्क रहन नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई आग्रह

-   मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स–साना खोला–नालामा तीव्र बहावको सम्भावना

-    १३ गते रातिदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह 

मंगलबार बदली, बुधबार सुधार, विहीबारदेखि फेरि प्रभावित !

-    मंगलवार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात 

-   हिमपातको कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर 

-    पश्चिमी वायु साथै अरब सागरमा बनेको न्युनचापीय प्रणालीको प्रभावले गर्दा मंगलवारको बदली 

-   बुधवारदेखि विस्तारै यो सुधार हुँदै आउने 

-   विहीवारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने 

-  मोन्था सक्रिय हुँदा नेपालको मौसम प्रभावित हुने 


मौसममा देखिएको यो बदलीप्रति बेलैमा सचेत नभए जनधनको क्षतिको जोखिम रहने प्रष्ट छ । त्यसैले सबैले उच्च सर्तकता अपनाउन आवश्यक देखिन्छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update