मनाङ । मनाङमा हिमपात रोकिएर मौसम खुल्न थालेसँगै पर्यटकहरू फर्किन थालेका छन् । थोराङ्ला र तिलिचो क्षेत्रबाट फर्किएका पर्यटकहरूको स्थानीय होटल, होमस्टे र स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सुरक्षाकर्मीको सहजीकरणमा व्यवस्थापन गरिएको छ । स्थानीय निकायको समन्वयमा सडक खुलाउन डोजर परिचालन गरिएसँगै अधिकांश पर्यटक तल्लो क्षेत्रमा झर्दै सुरक्षित स्थानमा आइपुगेका हुन् ।
विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो ताल घुम्न आएका पर्यटकहरु फर्किन थालेका छन् । चार हजार ९१९ मिटर उचाइमा रहेको तिलिचो र पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ पदयात्रामा आएका पर्यटकका लागि मौसममा आएको सुधारसँगै फर्किन सहज बन्दै गएको छ ।
तिलिचो ताल घुम्न गएका र थोराङ्ला पाससम्म पुगेकाहरु बुधबार बिहानैदेखि फर्किए । विहानै हिडेका पर्यटकहरु तल्लो क्षेत्र आइपुगेका छन् । खाङ्सारसम्म बाटो खुलेपछि करिव ३ हजार पर्यटक तल्लो क्षेत्र झरेका हुन् । बिहीबारदेखि ‘वेदर फरकास्ट’ ले फेरि हिउँ देखाएको छ ।
माथि नै रोकिनु भन्दा तल्लो क्षेत्रमा गएपछि थप सुरक्षित र व्यवस्थित हुने भन्दै तल्लो क्षेत्रसम्म पर्यटक आइपुगेका छन् । अहिले प्रायजसो ग्रामिण भेगबाट आन्तरिक पर्यटक तिलिचो वेसक्याम्प सम्म पुगेको थिए । हिमपात र बर्षा भएपछि विपतमा परेका पर्यटकलाई स्थानीय जनप्रतिनिधि,जिल्ला प्रशासन कार्यालय, र सुरक्षाकर्मीको सहजीकरणमा व्यवस्थापन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार खाङ्सारसम्मको सडक दिउँसो १ बजेसम्म खुलाइएको थियो । उनले मंगलबार उद्धार गर्न नसकेपनि करिव ३ हजार पर्यटकलाई छानामुनी राखेर खाना र बासको व्यवस्था मिलाएको बताए । उनले हिमपातमा फसेका पर्यटकको उद्धारमा जिल्लामा उपलब्ध भएका सवारीसाधनको उपयोग गरी गन्तव्यतर्फ जाने वातावरण बनाइरहेका जानकारी समेत दिएका छन् ।
सडक सञ्चालनका लागि जिल्ला प्रशासन, स्थानीय तहलगायत सबै लागि परेका छन् । अप्ठ्यारोमा परेका पर्यटकलाई चामेसम्म निजी, सार्वजनिक तथा सरकारी सवारीसाधनको उपयोग गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालको भनाइ छ । यहाँको आम्दानीको मुख्य स्रोत नै पर्यटन हो । पर्यटकीय सिजनमै अधिक हिमपात पछि तिलिचो जान रोक लगाइएको छ । जसले गर्दा पर्यटन व्यवसायीले चिन्ता समेत व्यक्त गरेका छन् ।
