News 24 Television
गाईगोरु तस्करीको डरलाग्दो रुप ! हव बन्दै मकवानपुर रुट !

मकवानपुर । पछिल्लो समय गोईगोरुको अवैध तस्करी मौलाउँदै गएको छ । नेपालका पहाडी भेगका गाईगोरुहरु छिमेकी मुलुक भारत हुँदै बंगलादेशसम्म तस्करी हुने क्रम मौलाउँदै गएको देखिन्छ । नक्कली भेटेनरी पत्र बनाएर अवैध गाईगोरु तस्कर गर्ने क्रम बढेपछि यसको नियन्त्रणमा पशु सेवा कार्यालयले सक्रियता बढाएको छ ।

बुधबार राति ११ बजेको समयमा पशु सेवा कार्यालय, मकवानपुरको टोली र इलाका प्रहरी कार्यालय, नेवारपानीको टोली अवैध गाईगोरु नियन्त्रणका लागि हेटौंडा १९ नेवारपानीको चेकप्वाइन्टमा खटिए ।

कोचाकोच गरेर पीडा दिँदै ल्याइएको २५ वटा गाईगोरु सहितको ट्रक सोहीबेला आइपुग्यो  । प्रहरीले खोजतलास गर्दा गाइगोरु ढुवानीको लागि बनाइएको भेटेनरी सर्टिफिकेट नक्कली प्रयोग गरेको र पशुपन्छी मापदण्ड विपरित ढुवानी गरेको पाइएपछि मकवानपुर प्रहरीले उक्त ट्रक, ट्रकमा ल्याइएको गाईगोरु र चालकलाई समेत नियन्त्रणमा लियो । 

यसरी चितवन, तनहुँ लगाएतका जिल्लाबाट संकलन गरिएका गाईगोरु हेटौंडाबाट झापा हुँदै सीमापार कटाएर मासुको लागि बंगलादेशसम्म लैजाने गिरोह सक्रिय रहेको सूचना पछि संयुक्त टोली परिचालन गरिएको हो ।

यसरी अवैध तस्करी नियन्त्रणले एकातिर गैरकानूनी गतिविधिमा अंकुश लगाएको छ भने अर्कातिर स्थानीय किसानलाई राहत पनि मिलेको छ ।

नियन्त्रणमा लिइएका गाईगोरु पशु सेवा कार्यालयले मकवानपुरका विभिन्न स्थानीय तहसँग समन्वय गरी खेतबारी जोत्नका लागि किसानलाई वितरण गर्दै आएको छ ।

त्यसो त, हालसम्म मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ५ हल गोरु लगेर किसानहरुले आफ्नो खेतबारी जोत्न प्रयोग गरिरहेका छन् ।यसबाहेक अन्य स्थानीय तहमा पनि गाईगोरु वितरण गरिएको कार्यालयको तथ्यांक छ । आपैmले गोरु किन्न नसक्ने, जोत्नको लागि बारीमा ट्याक्टर नजाने किसानहरु स्थानीय तहले नै छनौट गरेर ती गाईगोरु वितरण गरिँदै आइएको स्थानीय जनप्रतिनिधि बताउँछन् । 

विशेषगरी नेपालमा कृषि प्रयोजन बाहेक गोरु ढुवानी गर्न बन्देज छ । तर कृषि प्रायोजनकै लागि भन्दै ढुवानी मापदण्ड मिचेर नक्करी भेटेनरी सर्टिफिकेट बनाएर तस्करी भैरहेको गाईगोरु नियन्त्रणमा लिइएको हो । यसरी नियन्त्रणमा लिइएको गाईगोरु किसानका लागि वितरण गर्दै आएको हो । जसले गाईगोरु संरक्षण पनि हुने र किसानका लागि सहज पनि हुने पशु सेवाकार्यालयको दाबी छ । 

नेपाल सरकारद्वारा जारी पशु ढुवानी मापदण्ड, २०६४ अनुसार ढुवानी नगरेको र नक्कली प्रमाणपत्र बनाएर तस्करी गरेको पाइएको सवारीलाई नियन्त्रणमा लिन पशु सेवा कार्यालय आफैले तदारुकता देखाउँदै आएको हो ।

मकवानपुरको बाटो प्रयोग गर्दै झापा लगिने र त्यहाँबाट काँटभिट्टा नाका हुँदै बंगलादेशसम्म पुर्याउने तस्करको संजाल बढेपछि कार्यालय र प्रहरीको रहोबरमा हालसम्म २ सय भन्दा बढी गाईगोरु नियन्त्रणमा लिइएको कार्यालयको तथ्यांक छ । 

मकवानपुरबाट विगतदेखि नै गाईगोरुको तस्करी हुँदै आएको छ । प्रशासनले त्यसको नियन्त्रणका लागि खासै प्रभावकारी कदम चालेको देखिँदैन ।

चालु आर्थिक वर्षमा मात्रै मकवानपुरबाट ३ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ भने तस्करीमा संलग्नहरुलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । सस्तो मूल्यमा खरिद गरी सिमानातर्फ पठाउने उद्देश्यले केही समूहहरूले यस्तो गैरकानुनी कारोबार बढाइरहेको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update