 
                                                                    काठमाडौं । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको हमास आतङ्कवादी आक्रमणमा मारिएका विपिन जोशीसहितका मृतकहरुको सम्झनामा काठमाडौंमा विशेष श्रद्धाञ्जलीसभा कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपालस्थित इजरायलका राजदूत शमुलिक अरिए बासले उक्त आक्रमणले नेपाल र इजरायलका जनताका भाग्यहरूलाई सधैंका लागि जोडेको बताउँदै, इजरायल सरकार पीडित परिवारहरूको साथमा दृढ रूपमा उभिएको उल्लेख गरे ।

इजरायली दूतावासकी उप–प्रमुख जनान बेबारले आक्रमणबाट भएको मानवीय क्षतिको विवरण प्रस्तुत गर्दै नेपाली विद्यार्थी विपिन जोशीको अपहरण र हत्या, यौन हिंसा तथा यातनासम्बन्धी प्रतिवेदनका निश्कर्षहरु, र नोभा म्युजिक फेस्टिभलमा भएका नरसंहारका घटनाहरूबारे जानकारी दिइन् ।
कार्यक्रमका प्रमुख अतिथि, सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलले शान्ति र न्यायको अपरिहार्यता औंल्याउँदै हालै भएको शान्ति सम्झौताले दीर्घकालीन शान्ति ल्याउने र पीडितहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न देशका कूटनीतिक प्रतिनिधि, नागरिक समाजका अगुवा, र मानवअधिकारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रारम्भमा अक्टोबर ७ का नरसंहार र अपहरणका वास्तविक दृश्यहरू समेटिएको फुटेज प्रदर्शन गरिएको थियो।
 
 
                                     
                                                                    
 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    