News 24 Television
सप्तरीमा झाडापखालाको डरलाग्दो रुप ! तीनको मृत्यु ! विरामी बढ्दै !

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा झाडापखालाका कारण तीन जनाको मृत्यु भएको छ । एकै परिवारका तीन जनाको समयमै उपचार नपाउँदा झाडा पखालाकै कारण मृत्यु भएको बताइएको छ । झाडा पखाला प्रकोपबारे शुक्रबार राति स्थानीयले फेसबुकमा लेखेपछि मात्र घटना बाहिरिएको हो । 

सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमको सदा बस्तीमा दुई सातामा एकै परिवारका तीन जनाको झाडापखालाकै कारण मृत्यु भएको छ । स्थानीय वुचन सदाका बुबा र ५ वर्षीय छोरा तथा ८ वर्षीय छोरीको झाडा पखालाका कारण मृत्यु भएको बताइएको छ । 

शुक्रबार झाडापखाला लागेर सिकिस्त छोरीलाई उपचार गराउन गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए । तर, त्यहाँ उपचार सम्भव नभएर अन्यत्र लगेपछि उनको मृत्यु भएको बुचन सदाका भाई देवन्द्र सदा बताउँछन् । दुई साताअघि उनका बुबा र छोराको पनि झाडापखाला लागेर मृत्यु भएको थियो । 

बुचनको पत्नी पनि अहिले झाडापखाला लागेर अस्पतालमा उपचाररत छिन् । बुचन कामको शिलशिलामा भारतमा थिए । बुबा बितेको खबर पाएर घर आएका उनको आँखा सामु दुई छोराछोरीको मृत्यु भएको छ । उनको पाँच वटा छोराछोरी थियो । अहिले जेठी छोरीलाई पनि झाडापखाला लागेको छ तर उनी घरमै रहेको छ । 

शुक्रबार राति बुचनको छोरीको मृत्यु भएपछि स्थानीय युवकले फेसबुकमा पोस्ट लेखेपछि पालिकाका स्वास्थ्यकर्मी त्यहाँ पुगेका थिए । स्वास्थ्य चौकीको टोली पुगेर बस्तीमा झाडापखाला पीडितलाई जिवनजलसहित आवश्यक औषधि वितरण गरेका छन् । यस बस्तीका बासिन्दामा समस्या भएपनि स्वास्थ्य चौकी नआउने गरेकोले समस्याबारे थाहा नभएको छिन्नमस्ता गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र यादव बताउँछन् । 

बुचनको परिवार बाहेक अहिले पनि बस्तीको १० जनामा झाडापखालाको समस्या रहेको कुरा बाहिरिएको छ । बस्तीमा झाडापखाला रहेको समस्याबारे आफुलाई पनि पहिला थाहा नदिएको वडाध्यक्ष जयप्रकाश ठाकुर बताउँछन् । जनचेतना अभावले समस्या भएपनि त्यसलाई घरमै लुकाउने गरेको उनी बताउँछन् ।

बिरामी भएपनि स्वास्थ्य चौकी, अस्पताल नजाने तथा घरमै राखेर उपचार गराउन खोज्ने प्रवृत्ति देखिएको छ । बस्तीमा घर वरिपरि सरसफाई पनि नरहेको तथा फोहरमैलाको व्यवस्थापनमा पनि कमी रहेको छ । जनचेतना अभावले अन्यौलमा रहेको बिपन्नको अहिले पनि ज्यान गइरहेको छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update