News 24 Television
मन्त्रीहरुको इच्छा शक्ति कि लोक रिझ्याइँ मात्र ?

मकवानपुर । देशमा संघीयता लागू भएपछि बनेको तीन तहको शासन व्यवस्थामध्ये प्रदेश सरकार निरन्तर आलोचनाको घेरामा रहँदै आएको छ । राजनीतिक भागबण्डा, दोहोरो खर्च, र जनतासँग टाढिँदै गएको शासनका कारण प्रदेश संरचनामाथि नागरिक असन्तुष्टि बढ्दो छ । तर, यस्तै समयमा बाग्मती प्रदेशका केही मन्त्रीहरूले भने फरक सन्देश दिएका छन् । 

उनीहरूले सरकारी सवारी सुविधा नलिई आफ्नै सवारी साधन प्रयोग गर्दै राज्यमाथिको भार कम गरेका छन् । सात प्रदेशमध्ये बाग्मती प्रदेशमा सबै भन्दा ठूलो मन्त्रिपरिषद् छ ।

गत साउन २० गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा गठन भएको मन्त्रीपरिषद्मा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित १४ मन्त्रालय छन् । 

प्रदेश सरकार यसरी मन्त्रालयको संख्या थप्दै राजनीतिक भागवण्डा गर्ने अखडा बनिरहँदा केही मन्त्रीहरु भने खर्च कटौतीको पक्षमा देखिएका छन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले सरकारी सवारी सुविधा कटौती गरेका छन् । 

मन्त्री नियुक्त भएपछि प्रोटोकललाई ध्यानमा राखेर उनीहरुले प्रयोग गर्ने निजी सवारीमा नै निलो र रातो रंगको प्लेटमा सेतो अक्षरले लखिएको नम्बर प्लेट प्रयोग गरेका हुन् । मन्त्रालयको व्ययभार कम गर्ने उदेश्यले सरकारी सवारी प्रयोग नगरेको स्वास्थ्यमन्त्री थापाको भनाई छ । 

मन्त्री थापा अहिले मात्र होइन, ७४ सालको जनप्रतिनिधि चुनिएपछि पनि प्रशंसायोग्य काम गरेका थिए । ७४ सालको स्थानीय तहको निर्वाचनमा भक्तपुरको सूर्यविनायक नगरपालिका ८ को वडाध्यक्ष निर्वाचित भएर ५ वर्ष कार्यभार सम्हालेका थापाले उतिबेलाको सरकारी सुविधाबापत् प्राप्त भएको तलब कोषमा जम्मा गरेका थिए । 

हाल सो कोषको रकमबाट गरिब बालबालिकाको शिक्षामा खर्चदैँ आएको उनले बताए । उनले सांसददेखि मन्त्री भएसम्मकै तलब सुविधा यसैगरी जम्मा गरेर सामाजिक कार्यमा खर्च गर्ने दाबी गरेका छन् ।   

बाग्मती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले पनि सरकारी सवारीको सुविधा लिएकी छैनन् । सांसद हुँदा आपूmले चढ्ने सवारीलाई मन्त्रालयको प्रायोजनमा प्रयोग गर्दै आएकी छन् । आफैसँग सवारी साधन हुँदाहुँदै राज्यमाथि भार थप्न मन नलागेर आफ्नै सवारी प्रयोग गरेको उनको भनाइ छ । प्रदेशको खर्च कटौती गर्ने उदेश्यले तलब बाहेक कार्यक्रममा गएका भत्ता समेत नलिएको उनको दाबी छ । 

यी दुई मन्त्री बाहेक मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पनि आफ्नो सेवा–सुविधाबाट आउने रकम सामाजिक जिम्मेवारीमा खर्च गर्दै आएका छन् । 

सरकारमा मन्त्रीहरुको सामाजिक उत्तरदायित्यका कामहरु प्रशंसनीय छन् । यद्यपि कपिपय नेताले भने पटक पटक राज्य शक्तिको दुरुपयोग गरि लोकरिझ्याईँका लागि विभिन्न स्टन्डहरु गर्ने गरेका छन् । राजनीतिक दलका नेताहरुमा लागि साँच्चिकै मुलुकका हितमा काम गर्ने इच्चा शक्ति हुनु जरुरी छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update