News 24 Television
दार्चुला क्षेत्रकै ठूलो जात्रा शुरु, भारतदेखि दर्शनार्थी तान्ने धार्मिक गाथा

दार्चुला । अज्ञानीलाई ज्ञान, निःशन्तानलाई सन्तान र निर्धनीलाई धन वरदान दिने विश्वास रहेको राष्ट्रियधाम मालिकार्जुनमा कार्तिक १८ गते रात्रिकालीन जात्रा लागिरहेको छ । कार्तिक शुक्ल त्रयोदशीका दिन शैल्यशिखरमा पूजन जात्रा सम्पन्न भएसंगै चतुर्दशीका दिन रात्रिकालीन जात्रा लाग्ने गर्दछ । 

यो क्षेत्रकै ठूलो जात्रामा देश विदेशबाट भक्तजनहरु पुजाआजाका लागी आएका छन् । दार्चुलाको मालिकार्जुन गाउँपालिका –३ प्रेमनगर मडमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन रात्रिकालीन जात्रा लाग्ने गर्दछ । 

मालिकार्जुन धाममा लाग्ने यो जात्रालाई देशकै अलौकिक रात्रिकालीन जात्रा का रुपमा लिइने गरिन्छ । दिउँसो तिर भराण देवताका गरगहना छात, डोली, कुणी, चौरीको पुछ, भला, गदा, गजुर आदिसँगै दमाहा बजाएर मन्दिर परिक्रमा गरी जात्रा आरम्भ हुने गर्दछ । 

दार्चुलाको लेकम क्षेत्रमा कार्तिक शुक्ल द्वितीयादेखि पूर्णिमासम्म रात्रिकालीन जात्रा लाग्ने गर्छ । मंगलवारदेखि लागिरहेको मालिकार्जुन धामको जात्रा दार्चुलामा लाग्ने जात्राहरु मध्येकै ठूलो जात्रा हो । 

यो जात्रामा भारतको उत्तराखण्ड लगायत नेपालका विभिन्न ठाउँ एवम् राजधानी काठमाडौंदेखि पनि भक्तजनहरु आउने गर्दछन् । मालिकार्जुन धाममा यो पालिको जात्रा व्यवस्थापन का लागि पूर्ण तयारी भएको छ । हिजो मात्रै पुजन जात्रा सम्पन्न भएको हो । 

खानेपानी, सौचालय, सुरक्षा व्यवस्था लगायत विविध पक्षहरुमा पूर्ण तयारी भएको मन्दिर व्यवस्थापन समितिका सचिव जनक सिंह धामी  बताउछन् ।  

देशकै सात धाममध्ये मालिकार्जुन धाम एक मानिन्छ । मन्दिर व्यवस्थापन समिति, मालिकार्जुन गाउँपालिका र स्थानीय नागरिकको समन्वयमा मदिरा रहित, झगडा रहित जात्रा भव्य बनाउन प्रशासन लागी परेको छ । 

सम्पुर्ण जात्रालुहरुको आस्था, सुरक्षालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले २ सय पचासभन्दा बढी सुरक्षाकर्मी खटाएको छ । बाईटः अनिल पौडेल, प्रमुख जिल्ला अधिकारी, दार्चुला एघारौँ शताब्दीतिर भारतमा भइरहेको धार्मीक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए । 

स्थानान्तरण हुदै जाने क्रममा भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य मालिकार्जुनको भक्तिगाथाहरुमा पाइन्छ । 

धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिङ्ग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको हालको लेकम गाउँपालिका अन्तर्गत रिठाचौपाताको जाइझुल भन्ने ठाउँमा बास बसेको किंवदन्ति रहेको छ । त्यही शिवलिङ्ग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पूजन गरेको भन्ने मालिकार्जुनको झोडोमा उल्लेख छ । 

मालिकार्जुन भन्नाले तत्कालीन समयमा पार्वतीको अवतार ‘मल्लिका’ र शिवको अवतार ‘अर्जुन’ भई जन्मेको र त्यहिबाट मल्लिकार्जुन नाम रहन गई यस धामको चर्चा सुरु भएको शास्त्रहरुमा उल्लेख छ । मालिकार्जुन धाममा जात्रा लागेकै दिन लेकमको उचाकोट, मैखोली र गराडीमा समेत रात्रिकालीन जात्रा लाग्ने गर्दछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update