News 24 Television
रुपन्देहीका ४ उद्योगले बुझाए विद्युत बक्यौता रकम, बिजुली जोडियो

रुपन्देही । ट्रंकलाइन विवादको पहिलो किस्ता वापतको धरौंटी रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाएपछि रुपन्देहीका चार उद्योग संचालनमा आएका छन् । रुपन्देहीस्थित पञ्चकन्या औद्योगिक समूहका पञ्चकन्या स्टील इण्डष्ट्रिज र पञ्चकन्या प्लाष्टिक उद्योग मंगलबारबाट पूर्णरुपमा सञ्चालनमा आएका हुन् । यस्तै, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक पनि संचालनमा आएका छन् । 

रुपन्देहीका उद्योगले धरौंटी वापतको पहिलो किस्ता प्राधिकरणलाई बुझाएसंगै ४ उद्योग संचालनमा भएका छन् । सोमबार अपरान्ह उनीहरुले धरौटी बुझाएलगत्तै उद्योगको काटिएको लाइन जडान गरिएको थियो ।

पंचकन्या समूहले पत्रकार सम्मेलन गरी लाइन जडान गरिएपछि मंगलबार बिहानबाट उद्योग पूर्णरुपमा सञ्चालनमा आएको जानकारी दिएको छ । उद्योगका महाप्रवन्धक देवेन्द्र साहुले सोमबार राति केही घण्टामात्र उद्योग सञ्चालन गरिएको बताए । 

उद्योग सञ्चालकलाई ट्रंकलाइनबारे जानकारी बिनै अन्यायपूर्वक विद्युत महशुल अशुल्न खोजिएको भन्दैं करिब ८ वर्षदेखि पञ्चकन्या लगायत बुटवल–भैरहवा करिडोरका डेढ दर्जन उद्योग आन्दोलित थिए । सरकारसँगको वार्तामा धरौंटी बुझाएर न्यायका लागि कानुनी पक्रियामा जाने बाटो खुला गर्ने सहमती भएपछि पहिलो किस्ता बुझाएको साहुले बताए । 

प्राधिकरणले ट्रंकलाइन महशुल वक्यौंता बिबाद देखाएर कार्तिक ७ गते लाइन काटेपछि दुबै उद्योग बन्द थिए । 

यस अवधिमा उद्योगभित्र आश्रित दुई सय कर्मचारी र उनीहरुका परिवारका लागि जेनेरेटर चलाएर पिउने पानी र बिजुली आपूर्ति गरिएको र एकजना पनि कर्मचारीलाई कामबाट नहटाएको उनले बताए । 

उद्योग बन्द भएका बेलाको खर्च बक्यौंता महशुलभन्दा धेरै रहेको र महशुल नतिर्ने आफूहरुको नियत नभई न्यायका लागि लडाईमा रहेको उनले जिकिर गरे । अहिले धरौंटी वापत पहिलो किस्ता बुझाएको जनाउँदै आगामी दिनमा न्याय प्राप्तिका लागि विद्युत नियमन आयोगदेखि अदालतको ढोकासम्म पुग्ने उनले जानकारी दिए ।

पञ्चकन्या समूहसित जोडिएका श्रमिकको रोजीरोटी सुरक्षित गर्दै यहाँबाट सामान अर्डर गरेका राष्ट्रिय गौरबका आयोजनाका माग पूर्ति गर्न उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको महाप्रवन्धक साहुको भनाई छ । यसैगरी सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले पनि सोमबार बक्यौताको पहिलो किस्ता तिरेका छन् । 

पहिलो किस्ता तिरेपछि प्राधिकरणले यी दुई उद्योगको विद्युत जोडिदिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने अर्थतन्त्र चुनौतीपूर्ण र उद्योगहरूले न्यून क्षमतामा वस्तु उत्पादन गरी जेनतेन उद्योग सञ्चालन गरिरहेको अवस्थामा प्राधिकरणले बिजुलीको लाइन काट्दा  उद्योगहरू थप मर्कामा परेको बताए । 

उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापत महशुल बक्यौता रहेको भन्दै प्राधिकरणले उद्योगहरुलाई ताकेता गरेको थियो ।

पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैर्या बक्यौता रहेको प्राधिकरणले जनाएको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले पहिलो किस्ता तिरेका छन् । 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update