कास्की । कुनै समय पोखराको फेवातालमा तैरिन पर्यो भने काठबाट बनेका डुंगाको अधिक प्रयोग हुन्थ्यो । तर, पछिल्लो समय वाटर स्पोर्टसका नाममा एसयुपी बोट र कायकिङको प्रयोग व्यापक बढ्दो छ । यस्ता आधुनिकताले पर्यटकीय आकर्षण र पर्यटक बढेपनि यसका कारण रैथाने काठका डुंगा चल्न कम हुँदै गएपछि व्यवसायी चिन्तित बनेका छन् ।
झट्ट हेर्दा काठको फलेक जस्तो, कोही बसेर त कोही उठेर पानीमा तैरिरहेका छन् । पोखराको फेवातालमा यस्ता दृष्य निक्कै देखिन थालेका छन् ।
कुनै समय काठबाट बनेका डुंगाले भरिभराउ हुने फेवातालमा आजकल भने ति दृष्य निकै कम देखिन्छन् । पछिल्लो समय फेवातालमा स्ट्याण्ड अप प्याडल अर्थात एसयुपीको प्रयोग ब्यापक छ । कतिपयले यसलाई कायकिङ पनि भन्छन् ।
चालक आवश्यक नपर्ने, निक्कै हलुका र चलाउन सजिलो हुने तथा साहासिक खेल भएकाले युवा जमात एसयुपीमा निक्कै आकर्षित देखिएका छन् ।
पोखराको फेवातालमा एसयुपी बोट चल्न थालेको पनि केही महिना मात्र भयो । तर, छोटो समयमै यसले निक्कै चर्चा बटुलेको छ । एउटा एसयुपी बोटको २० हजार देखि ५० हजारसम्म पर्दछ । अहिले यो बोट चलाएको १ घण्टाको ३ सय देखी ५ सय रकम लिने गर्छन् । थोरै लगानी तर मनग्य आम्दानी हुने भएकाले यो व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ ।
एसयुपी बोटका कारण फेवातालमा पर्यटकीय आकर्षण बढेको छ । पर्यटकको संख्या पनि बढ्दो छ । तर यसैका कारण परापुर्वकालदेखी फेवातालमा चल्दै आएको परम्परागत काठका डुंगाको व्यवसाय भने संकटमा परेको बताउछ, फेवा डुंगा व्यवसायी समिति ।
वाटर स्पोर्टसको नाममा तालमा मनपरी एसयुपी बोट संचालन गरिएको र यो कानुन विपरीत भएको समितिका अध्यक्ष बलराम गिरीको भनाई छ ।
पोखराको फेवातालमा अहिले ३ सय भन्दा बढि व्यवसायीले ७ सय ६४ काठका डुंगा प्रयोगमा ल्याएर ८ स्थानबाट पर्यटकलाई फेवा तालमा सयर गर्ने सेवा दिँदै आएका छन् ।
पछिल्लो समय एसयुपी बोटका कारण रैथाने ढुंगा समस्यामा परेको डुंगा समितिको ठहर छ । पर्यटकिय राजधानीमा पर्यटकिय गतिविधी थप हुनु सकारात्मक कार्य हो । तर एउटा व्यवसाय चल्दा अर्को व्यवसाय बन्द हुनुपर्ने अवस्थामा पुग्नु सकरात्मक सन्देश भने हैन यस तर्फ संम्वन्धित पक्षको ध्यान जान जरुरी छ ।
