रुपन्देही । दर्ताको प्रक्रियामा रहेको गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले मुलुकको आर्थिक समृद्धिसँगै रोजगारी वृद्धिका लागि विभिन्न एजेण्डा केन्द्रित आफ्नो पहिलो अवधारणा सार्वजनिक गरेको छ । विहीबार भैरहवामा आयोजित कार्यक्रममा पार्टीका पदाधिकारी र सदस्यले पर्यटक वृद्धिका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा जोड दिएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी ढंगले सञ्चालन गरी पर्यटन प्रवद्र्धन र आर्थिक विकास कसरी सम्भव छ भन्ने विषयमा गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) ले आफ्नो अवधारणा सार्वजनिक गरेको छ ।
गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दर्ताको प्रक्रियामै रहेका समय आफ्नो अवधारणा सार्वजनिक गरेको हो । कार्यक्रममा पार्टीका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दिनेश प्रसाईं, पार्टी सदस्य तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, केन्द्रीय सदस्य तथा लगानी बोर्डका पूर्वसीईओ राधेश पन्त र पर्यटन क्षेत्रका अध्येता ज्ञानेश्वर महतोले आफ्नो धारण राखेका राखे ।
अध्यक्ष प्रसाईंले राजनीतिक दलहरूले समयानुकूल परिवर्तनलाई सम्बोधन गर्न नसक्दा समाजमा असन्तोष र आन्दोलन उत्पन्न भएको बताए । समाजमा भइरहेको ग्यापले विग्रह ल्याएको जनाउँदै उनले गतिशील पार्टीले आर्थिक रूपान्तरण र सुशासनलाई मुख्य मन्त्र बनाएको जनाए ।गतिशील लोकतान्त्रिक पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको छ । दर्ता प्रक्रियाका लागि करिब ५ सय सदस्यको प्रस्ताव तयार पारिएको छ ।
सदस्य बस्नेतले भैरहवा विमानस्थललाई सञ्चालनमा ल्याएर क्षेत्रीय पर्यटन कसरी विस्तार गर्न सकिन्छ भन्नेबारे विस्तृत रुपमा जानकारी दिएका छन् ।
उनले आफूहरुले जिम्मेवारी पाए यस विमानस्थललाई चलायमान बनाउने दाबी समेत गरे । भैरहवा विमानस्थल सञ्चालनमा ल्याएर प्रत्येक वर्ष ५ लाख पर्यटकका दरले १० वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने उनको भनाई छ ।
योजना आयोगका पूर्व सीईओ पन्तले पार्टीले आर्थिक क्षेत्रमा आफ्नो ४० वर्षको अनुभवलाई आधार बनाएर मुलुकमा रोजगारी बृद्धिका लागि पर्यटन प्रमुख खम्बाका रुपमा रहेको बताए ।
त्यसपछि कृषि, शिक्षा र सूचना प्रविधिको बिकास गरेर मुलुक समृद्ध तुल्याउन सकिने निष्कर्षसहित पार्टीले एजेण्डा केन्द्रित अभियान सञ्चालन गरेको बताए । अर्का सदस्य महतोले पार्टीले अनुमानका भरमा एजेण्डा प्रस्तुत नगरेको बताए ।
यस पार्टीले आगामी चरणमा मधेश प्रदेशको जनकपुरमा कृषि क्षेत्रका विषयमा बहस र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विकास सम्बन्धी छलफल कार्यक्रम गर्ने तयारी गरेको छ ।
