कास्की । पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड रुपैयाँभन्दा धेरै रकम हिनामिना भएको खुलेको छ । सहकारीको रकम संस्थाका व्यवस्थापकसहित कर्मचारी र पदाधिकारीको गठजोडमा ८८ करोड ७० लाख रुपैयाँ रकम हिनामिना भएको पाइएको हो । सहकारीको रकम अपचलन गर्ने आठजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
पोखरा बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहति आठजनालाई पक्राउ गरेको छ ।
पोखरा नयाँबजारमा प्रमुख कार्यालय रहेको सहकारीका अध्यक्ष गोदारसहित उपाध्यक्ष शम्भुराज बास्तोला, सचिव दिलबहादुर केसी,कोषाध्यक्ष तथा ऋण संयोजकः हिरामणि दाहाल, प्रवन्धक भीष्मप्रताप गुरुङ, पूर्वसचिव तथा सञ्चालक ईन्द्रप्रसाद द्धा, सञ्चालक दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख वेदीप्रसाद सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो ।
व्यवस्थापकसहित वर्तमान तथा पूर्व पदाधिकारीलगायतलाई अनियमित ढंगले दुरुपयोग गरेको र साथ दिएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो ।
सञ्चालक समितिका पदाधिकारी, व्यवस्थापकसमेतका व्यक्तिहरूको मिलेमतोमा सहकारीको सिद्धान्त र मूल्य मान्यताहरूको बर्खिलाप गरी बचतकर्ताहरुको हितविपरित रकम हिनामिना गरेको सहकारी रजिष्ट्रारको कार्यालयले प्रतिवेदन तयार गरेको छ । सोही आधारमा उनिहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।
विभिन्न काल्पनिक खाताहरू खोली सहकारी संस्था तथा विभिन्न व्यक्तिहरूको रकम अपचलन गरेको, ऋणका नाउँमा रकम निकासी गराई हिनामिना गरेको पाइएको छ ।
सहकारी संस्थालाई दुरुपयोग गरी पूर्वयोजना बमोजिम अपचलन भएको निश्कर्ष रजिस्ट्रारको कार्यालयको गरेको अध्ययन प्रतिवेदनले जनाएको छ । घटना बाहिर आउन नदिन मिलान गर्ने नाममा फेरि पनि बदमासी भएको देखिएको छ ।
झस्किएका छन् । अरुको सहकारी समस्याग्रस्त भएको थाहा पाएका बचतकर्ता आफ्नो बचत पनि दुरुपयोग भएको खबरले चिन्तीत छन् ।
शेयर सदस्य र ऋणी तथा सहकारीलाई ठगी गरी जोरजम्मा गरेको रकमबाट अबैधानिक लाभ उठाउने कामसमेत वर्तमान र पूर्वपदाधिकारी तथा व्यवस्थापकले गरेका छन् ।
सहकारी संस्थामा हिनामिनामा संलग्न समेतले सहकारी ऐन अन्तर्गतको कसुर गरी आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउनको काल्पनिक खाता खोलिएको पाइएको छ । २०७८ भदौ ६ गते सुरेन्द्रबहादुरको नेतृत्वमा पछिल्लो सञ्चालक समिति निर्वाचित भएको थियो । त्यसअघि आशबहादुर गुरुङ, फणिन्द्रराज शर्मा, विजय महर्जन अध्यक्ष थिए ।
महर्जनकै अध्यक्षतामा २०५९ साल वैशाख १२ गते सहकारी स्थापना भएको थियो । सहकारी संस्थाले हाल कुल ३ हजार ५६ शेयर सदस्यहरुले कारोबार गरिरहेको सहकारीको सिस्टमको अभिलेख बमोजिम देखिन आएको छ ।
