मकवानपुर । कुनै समय मकवानपुरको भीमफेदी काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार थियो । त्रिभुवन राजपथ बन्नुअघि पैदलयात्री र व्यापारीहरूको चहलपहलले गुञ्जायमान यो ठाउँ ऐतिहासिक रूपमा समृद्ध रहँदै आएको छ ।
यही भूमिमा रहेको राणाकालीन हात्तीसार संग्राहलय नेपालको राजतन्त्र र राणा शासनकालको इतिहास बोकेको अद्वितीय सम्पदा हो । कुनै समय बेलायती महारानी एलिजाबेथ द्वितीयजस्ता विशिष्ट पाहुनाहरूको साक्षी बनेको यो स्थल अहिले भने संरक्षण र प्रचारको अभावमा ओझेलमा परेको छ ।
राणा शासनकालमा मकवानपुरको भीफफेदी काठमाडौँ प्रवेश गर्ने मुख्य प्रवेशद्धार थियो । काठमाडौँ र तराईलाई जोड्ने प्रमुख विन्दु थियो । अनि नेपालका राजाहरू, राणाहरू र विदेशी पाहुनाहरू तराईका जंगलमा सिकारका लागि प्रस्थान गर्ने स्थल थियो, भीमफेदी ।
यही भीमफेदीमा छ राणाकालिन हात्ती संग्राहलय । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लामा अवस्थित यो संग्राहलय संरक्षणको पर्खाइमा छ । अझ भनौँ प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठामाडौँ आउजाउ गर्ने बाटोमै यो संग्राहलय रहे पनि यसको संरक्षण र प्रचार प्रसारमा भने राज्यको ध्यान पुग्न सकेको छैन ।
हेटौंडाबाट करिब ३५ किलोमिटर उत्तरतर्फ भीमफेदी गाउँपालिका–६ मा रहेको यो सङ्ग्रहालय करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको छ । यो संग्रहालयमा ४२ वटा ऐतिहासिक हौदा अर्थात् हात्तीको पिठ्युँमा राखेर बस्ने आसन सुरक्षित राखिएका छन् ।
बेलायती महारानी एलिजावेथ द्वितीय र नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणा देखि अन्य राजपरिवारसम्मले प्रयोग गरेका हौदा यहाँ सुरक्षित छन् । तर यसरी ऐतिहासिक सम्पत्तिको राखिएको संग्राहलयको संरक्षणमा भने राज्यको ध्यान पुग्न नसकेको गुनासो छ ।
त्यसोत, २०३९ सालमा मकवानपुरको सदरमुकाम भीमफेदीबाट हेटौंडा सारिएपछि यो ऐतिहासिक बजारको रौनक विस्तारै हराउँदै गयो । तर, यहाँ रहेका चिसापानी गढी, पृथ्वी–चन्द्र अस्पतालको पुरानो भवन, भीमसेन मन्दिर र हात्तीसार संग्राहलय जस्ता ऐतिहासिक धरोहरले भीमफेदीलाई जिल्लाकै महत्वपूर्ण पर्यटकीय केन्द्रको रूपमा स्थापित गर्ने अपार सम्भावना बोकेको छ ।
प्रदेश मातहत ल्याएर डिभिजन कार्यालयबाट सामान्य मर्मत र व्यवस्थापनको कामबाहेक अन्य कुनै योजना कार्यान्वयनमा ल्याउन नसक्दा ऐतिहासिक हात्तीसार संग्राहलय बन्द कोठाभित्रै सिमित छ । तथापि, भीमफेदीकै चिनारी रहेको यस संग्राहलयको मर्मत संभार र संरक्षणका लागि भीमफेदी गाउँपालिकाले चासोका साथ काम गरिरहेको दाबी गर्छ ।
यस संग्राहलय अधिकांश समय ताल्चा लगाएर राखिन्छ । अवलोकनकर्ता पुगेमा मात्र ताल्चा खोलेर अवलोकन गराइने प्रचलन छ । संग्राहलयभित्र रहेका हौदा, हात्ती बाँध्ने खम्बा, पुराना काठी लगाएत हात्ती सम्बन्धि विभिन्न औजारहरुकोे नाम उल्लेख गरेर राखिए पनि यसको सुरक्षाको लागि कुनै ठोस कदम देखिदैँन ।
सरोकारवाला निकायले संग्राहलयको नियमित सञ्चालन, व्यवस्थित प्रचारप्रसार र यहाँको ऐतिहासिक कथालाई रोचक ढंगले प्रस्तुत गर्न सकेमा मात्र पर्यटकका लागि एक आकर्षक गन्तव्य बन्न सक्ने मकवानपुरका इतिहासविद्हरु बताउँछन् ।
