सुनसरी । सुनसरीस्थित झुम्का कारागार असुरक्षित बन्दैगएको छ । कारागारमा कैद सजाय भोगिरहेका कैदीबन्दीहरु आन्तरिक प्रशासनबाटै असुरक्षित बन्दै गएको कैदीबन्दीका आफन्तहरुले आरोप लगाएका छन् । कोशी प्रदेशकै बढी कैदी संख्या अटाउने झुम्का कारागारमा पछिल्लो केही महिना यता कैदीहरुको निरन्तर मृत्यु अनि गुण्डागर्दीका घटना सार्वजनिक भएपछि आफन्तहरुले चिन्तित बनेका छन् ।
झुम्का कारागारमा जेनजी आन्दोलन अघि अर्थात भदौ महिनामा मात्र तीनजना कैदीको मृत्यु भएको थियो । यस्तै मानव वेचबिखनको मुद्धामा कैद सजाय भोगिरहेका सुधनलाल सरदारको समेत आइतबार बिहान मृत्यु भएको छ ।
कारागार प्रशासनले सरदारको मृत्यु बिरामीको कारणले भएको दाबी गरेको छ भने आफन्तहरुले शंकाष्पद मृत्युको आरोप लगाएका छन् । त्यसो त, कारागार भित्रको आन्तरिक प्रशासनले कैदीहरुमाथि ज्यादती र कुटपिट जस्ता घटनाले कैदीबन्दीहरु असुरक्षित बन्ने गरेका छन् ।
कारागारको बाहिरी प्रशासनले आफन्तलाई जानकारी नदिइ भित्र घटेका घटना दबाउन खोज्ने र उपचार गर्न लैजादा घर परिवारलाई जानकारी नदिइ लैजाने गरेको आरोप छ ।
यस्तै कारागार भित्र प्रशासन अर्थात चौकीदारले सञ्चालन गर्ने क्यान्टिनमा अत्याधिक महंगो शुल्कमा सामान बिक्री गर्दा कैदीहरुले किनेर खाने अवस्था नभएको समेत आफन्तहरुको भनाई छ । कैदीहरुलाई आफन्तले पठाइदिएको पैसा समेत भित्रै गायब हुने गरेको आफन्तहरुको आरोप छ ।
त्यस्तै कैदीहरुलाई घरबाट पकाएर लगिदिएको खाना सहज हिसाबले खाने वातावरण समेत नभएको आफन्तहरुको गुनासो छ ।
भित्री प्रशासनले गर्ने ज्यादती बिरुद्ध बोल्दा कैदीहरुमाथि उल्टै कुटपिट हुने जस्ता घटनामा कारागार प्रशासन मौन बस्ने गरेको आफन्तहरु बताउछन् ।
कैदीबन्दीका आफन्तहरुले लगाएको आरोपका बिषयमा झुम्का कारागारका सुवास कुमार लामिछाले प्रतिकृया दिन मानेनन् । हाल झुम्का कारागारमा दुईवटा ब्लकमा गरि करिब १२ सय ७२ कैदीबन्दी रहेका छन् । जेनजी आन्दोलनमा भने कारागारबाट भागेका अझै ५ सय ६५ कैदी फर्किएका छैनन् ।
