News 24 Television
राष्ट्रिय परिचयपत्रमा नागरिकको खेलाँची, हजारौं कार्ड खुइलिँदै

रौतहट । राष्ट्रिय परिचयपत्रलाई सरकारले हरेक क्षेत्रमा अनिवार्य बनाउँदै लगेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्न थालेको छ ।

पछिल्ला दिनहरुमा रौतहटमा समेत राष्ट्रिय परिचयपत्र बनाउनेको भीड छ । तर, सरकारको दुरावस्था कस्तो छ भने, सबै विवरण संकलन गर्छ, काड छपाईमा समय लगाउछ, अर्कातिर नागरिक कतिसम्म गैरजिम्मेवार छन् भने, कार्ड बनाउन फारम भर्छन्, कार्ड लिन आउँदैनन् । जिल्ला प्रशासन कार्यालय रौतहटमा अहिले पनि राष्ट्रिय परिचयपत्र बनाउन नागरिकहरुको भिड लाग्ने गरेको छ । हजारौं नागरिकले राष्ट्रिय परिचयपत्र बनाएका छन्, तर परिचयपत्र लिन भने आउँदैनन् । कतिसम्म भने हजारौं राष्ट्रिय परिचयपत्र सरकारी कार्यालयमा अलपत्र छन् । 

रौतहट जिल्ला प्रशासन कार्यालयमा छापिएका हजारौं राष्ट्रिय परिचयपत्र नागरिकले लिन नआएपछि कार्यालयमै थन्किदाँ वितरणमा नै समस्या उत्पन्न भएको छ । राष्ट्रिय परिचयपत्र नागरिकको पहिचानसँग जोडिएको अत्यन्त महत्वपूर्ण कागजात भएकाले यसलाई लिन आउन जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ । 

परिचयपत्र छापिएर आउने बित्तिकै सम्बन्धित व्यक्तिको फोनमा म्यासेज जाने र कार्यालयमा पनि सूचना जारी गरेपनि सम्बन्धित व्यक्तिहरूले कार्ड बुझ्न आइरहेका छैनन् । कामकाज गर्न राष्ट्रिय परियचपत्र नम्बर भए पुग्ने भएकाले कार्ड लिन चासो नदेखाएको पाइएको छ । 

साथै, कतिपय नागरिक राहदानी बनाएर विदेश गएको, लामो समयसम्म घरमा अनुपस्थित रहेकाले कार्ड लिन नआएको हुनसक्ने कार्यालयको अनुमान रहेको छ । 

जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङ्क अनुसार यस कार्यालयमा आर्थिक वर्ष २०८१\८२ मा ३६ हजार ६०५ जनाले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरेका थिए । यस आर्थिक वर्ष २०८२\८३ को असोजसम्म ८ हजार ७९२ जनाले विवरण दर्ता गराएका छन् । 

तर, जिल्ला प्रशासन कार्यालयमा छापिएर आएका २९ हजार २ सय ९९ स्मार्ट कार्डहरुमध्ये ६ हजार ८६ कार्डहरु मात्र सम्बन्धित व्यक्तिले लगेका छन् । 

छापिएर आएका कार्डहरु लामो समयसम्म कार्यालयमै थन्किएर बस्दा हराउने, खुइलिने लगायतका समस्याहरु देखापर्ने जोखिम हुँदा समयमै आफ्नो कार्ड लिनु नागरिकका लागि बुद्धिमानी काम हुन्छ । राज्यको नीति नियमसँग जोडिएको कुनै पनि कुरामा सबै नागरिक जिम्मेवार बन्नु आवश्यक छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update