सिन्धुपाल्चोक । चीनको न्यालम प्रशासनले कन्टेनर आउजाउमा कडाई गरेपछि करोडौं मूल्यका नेपाली मालवस्तु महिनौंदेखि चिनियाँ क्षेत्रमा अलपत्र परेका छन् ।
रसुवा नाका बन्द भएर तातोपानी नाकामा सीमित हुँदा सामान आयातमा ठूलो समस्या परेको छ । दशैं–तिहारका लागि ल्याइएका सामान समेत तातोपानी नाकाबाट नेपाल भित्रन नसक्दा व्यापार र भन्सार राजश्वमा प्रत्यक्ष असर परेको छ ।
चीनको तिब्बतमा रहेको न्यालम भन्सारले नेपाल निर्यात हुने मालवस्तुको जाँचपासमा गरेको ढिलाइले अहिले दसैँअघि देखिका पाँच सय कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका छन् ।
ब्यापारीका अनुसार तातोपानी पारि लिपिङको मितेरी पुलदेखि खासाको रमितेसम्म एक सय १७ र न्यालमदेखि मिम्बुसम्म थप चार सय कन्टेनर सडकमै छन् ।
चीनका विभिन्न सहरबाट सामान पैठारी गर्दा सहज रूपमा नेपाल आउने सबैभन्दा छोटो नाका तातोपानी हो । तातोपानी मितेरी पुलबाट खासा बजार ९ किलोमिटर र खासाबाट नेलाम ३५ किलोमिटर दूरीमा पर्छन् ।
फलफूल र रेडिमेड सामग्रीको तुलनामा विद्युतीय सवारी साधनको जाँचपासलाई प्राथमिकता दिएकाले कन्टेनर न्यालममै रोकिएको ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधि बताउछन् ।
२४ असारदेखि रसुवा नाका बन्द भएकाले त्यसको चाप समेत तातोपानी नाकामा परेको छ । तर, पहिरोले कोदारी सडक झन्डै दुई महिना अवरुद्ध भएपछि चाडपर्व लक्षित सामग्री चिनियाँ क्षेत्रमै रोकिएका थिए ।
केरुङ र न्यालममा अड्किएका झन्डै पाँच सय कन्टेनरमध्ये केही मुस्ताङको कोरोला नाका भएर दसैँअघि भित्रिएका थिए । दसैँअघि तातोपानी नाकामा पहिरोले बाधा पु¥याएको र जोखिम मोल्नुपर्ने समस्या देखाएर चीनको न्यालम भन्सारले कन्टेनर पठाउन मानेको थिएन । यद्यपि, अहिले मौसम सफा र सडक राम्रो भएको वेलामा पनि चिनियाँ अधिकारीले समयमै जाँचपास गरेर कन्टेनर पठाउन ढिलाइ गरिरहेका छन् ।
अहिले दैनिक औसत १३–१५ कन्टेनर तातोपानी भन्सार प्रवेश गरिरहेका छन् । दसैँअघि र अहिले आयात हुने कन्टेनर संख्या लगभग उस्तै छ । व्यापारीका अनुसार चिनियाँ पक्षकै कारण कन्टेनर कम आएको हो भने तातोपानी पारि लिपिङको मितेरीपुलदेखि खासाको रमितेसम्म एक सय १७कन्टेनर सडकमै लाइन लगाएर राखिएको छ ।
फलफूल, बच्चाको कपडा, रेडिमेड सामग्री, विद्युतीय उपकरण र जाडो मौसमका लागि न्यानो कपडा बोकेका ४० फिट लामा यी कन्टेनर दसैँअघि नै खासा आइपुगेका थिए । त्यसैगरी, न्यालमदेखि मिम्बुसम्म थप चार सय कन्टेनर रोकिएका छन् ।
नेपालीले खरिद गरेको मालवस्तु नेलामसम्म ल्याएपछि त्यहाँको प्रशासनले खासा हुँदै ४४ किलोमिटर नेपालतर्फ तातोपानी पठाउने मालवाहक कन्टेनरको संख्या सीमित गर्दै आएको छ । नेलामसम्म सामान ल्याउन दिएपनि तातोपानी नाका पठाउन भने आलटाल गरिँदै आएको स्रोत बताउछ ।
सडक अवरुद्ध हुने र पर्याप्त कन्टेनर आउजाउ गर्न नदिने भएकाले यसले भन्सार राजस्वमा समेत प्रत्यक्ष असर गरेको छ । व्यापार कम भएपछि चालु आर्थिक वर्षको राजस्व लक्ष्य २४ अर्ब ४७ करोड हासिल गर्न कठिन पर्ने अवस्था छ ।
चालु वर्षको साढे तीन महिनामा ३ अर्ब ३१ करोड राजस्व संकलन भएको छ । लक्ष्य अनुसार यस अवधिमा साढे ६ अर्ब राजस्व संकलन हुनुपर्छ । तर तत्कालका लागि एक मात्र विकल्पमा रहेको नाकाबाट व्यापार गर्न सक्ने परिस्थिति नै बन्न नसकेको व्यवसायीको भनाइ छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले यस विषयमा ल्हासास्थित नेपाली महावाणिज्य दूत र बेइजिङस्थित अधिकारीहरूसँग छलफल भइरहेको बताए ।
उनका अनुसार नोभेम्बरमै नेपाल–चीन स्थानीय अधिकारीबीच समन्वय बैठक बस्ने र कन्टेनर जाँचपास ढिलाइबारे औपचारिक रूपमा उठाइनेछ ।
व्यवसायीहरूका अनुसार फलफूलजस्ता छिटो बिग्रने वस्तु ‘ग्रीन च्यानल’मार्फत छिटो पास गर्नुपर्ने अन्तर्राष्ट्रिय नियम भएपनि चिनियाँ अधिकारीले अनावश्यक रूपमा ढिलाइ गर्दै आएका छन् ।उनीहरूले सरकारले कूटनीतिक पहल गरेर समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।
