सप्तरी । सीमा स्तम्भ हराएदेखि भारतीयले नेपालको हजारौं विघा जमिनमा खेती गरिरहेको विषयप्रति सप्तरीका सीमा क्षेत्रका सरोकारवालाले ध्यानाकर्षण गराएका छन् । विहीबार छिन्नमस्ता बाहिनी मुख्यालयले आयोजना गरेको सप्तरीमा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रममा सरोकारवालाहरुले यो विषयमा गम्भिर बन्नु पर्नेमा जोड दिएका हुन् ।
विशेषगरि जनप्रतिनिधिहरुले सीमा क्षेत्रका समस्यालाई गम्भिरताका साथ लिन आग्रह गरेका हुन् । नेपालका अन्य क्षेत्रमा जस्तै भारतसँग सीमा जोडिएको सप्तरीका विभिन्न क्षेत्रहरु अतिक्रमणमा परेका छन् । सीमा स्तम्भ हराएपश्चात अहिलेसम्म नेपालको हजारौं विघाह जमिनमा भारतीयले अतिक्रमण गरि खेती गर्दै आएका छन् ।
यहि विषय सप्तरीका सरोकारवालाहरुले उठाएका छन् । छिन्नमस्ता बाहिनी मुख्यालय सशस्त्र प्रहरी बल ६ नम्बर गणले बिहिबार आयोजना गरेको सीमाबासीसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यो बिषय उठाएका हुन् । छिन्नमस्ता गाउँपालिकाको महुवादेखि लालापट्टी क्षेत्रको नेपाली भुमीमा वर्षाैदेखि भारतीयले खेती गर्दै आएको सो क्षेत्रका बासिन्दाले ध्यानाकर्षण गराए ।
भारतीयले अब त्यहाँ पुल कल्भर्टसहितका पक्की संरचना समेत बनाउँदा पनि नेपाली पक्ष र नेपाल सरकार मूकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले उनीहरूलाई नहटाएर र कानुनी अड्चन नभएको भए स्थानीय आफैले समाधान गर्न सक्ने कार्यक्रममा सहभागी छिन्नमस्ता गाउँपालिका–३ का वडाध्यक्ष विजय यादवले दावी गरे ।
सप्तरीका सीमा क्षेत्रमा केही मात्र पिलर देखिएकोले थप पिलर निर्माण गर्न स्थानीय वडाध्यक्षले सुझाएका छन् । पिलर नहुँदा सीमामा विवाद हुन सक्ने भएकोले आवश्यक ठाउँमा थप पिलर राख्न भनेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरीका उपरीक्षक रोशन बुढाथोकीले सप्तरीमा कुल ६ सय ४९ पिलर मध्ये हाल एक सय ७० वटा मात्र देखिने गरेको बताएका छन् । उनले बाँकी जिपिएस सिस्टमबाट पिलरको स्थान पहिचान गरेर थप पिलर निर्माणको काम गरिने जानकारी दिएका छन् ।
यद्यपी हाल पिलर नभएपनि सीमा मिचिन नसकिने भन्दै ढुक्क हुन नागरिकलाई आग्रह गरेका छन् । पिलरको रेकर्ड जिपिएस सिस्टममा रहेकोले त्यो मिचिन नसकिने उनको भनाइ छ ।
सप्तरीका आठवटा पालिका भारतीय सीमासँग जुटेको छ । त्यसमध्ये कार्यक्रममा चार वटा पालिकाका प्रमुख कार्यक्रममा सहभागी थिए ।
