काठमाडौं । नेपाल बौद्ध महासंघले शुक्रवार गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष ध्यानार्षणसहित ज्ञापनपत्र बुझाउँदै गुम्बा तथा विहारहरुमाथि हाल फैलाइएका अधारहिन आरोपहरुको सत्यता पुष्टि गर्न गृहमन्त्रालयलाई चुनौति दिएको छ ।
महासंघका अध्यक्ष नुर्बु थुन्डुप शेर्पा (गेसे थुप्तेन जिन्पा), निवर्तमान अध्यक्ष आचार्य नुर्बु शेर्पा लगायतको टोलीले धार्मिक सद्भाव बिथोल्ने किशिमका दुष्प्रचार रोक्न र यस्ता गतिविधिहरुमा संलग्नप्रति कानूनी कारबाही गर्न समेत गृहमन्त्री अर्याललाई ध्यानाकर्षण गराएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बौद्ध समुदायप्रति लक्षित गर्दैै केही व्यक्तिहरुले अभिव्यक्ति दिइरहेका छन् । गुम्बाभित्र हातहतियार लगायत राखिने गरेको राप्रपा नेता ज्ञानेन्द्र शाही, युवराज संग्रौला, भरत दाहाल लगायतले सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् । यसै विषयमा असन्तुष्टि जनाउँदै नेपाल बौद्ध महासंघले गृहमन्त्रीसमक्ष सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न माग राख्दै ३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले बौद्ध गुम्बाहरु र बौद्ध धर्मको बारेमा आफु जानकार रहेको बताउँदै धार्मिक सद्भाव खलबलिने गतिविधि कसैले पनि गर्न नहुने बताए । हरेकले आफ्नो धर्म संस्कृतिको अभ्यास गर्न पाउने अधिकार संविधानमै रहेको उल्लेख गर्दै उनले यस्ता अराजक गतिविधिहरु निरन्तर भए कानून अनुसार नै सरकारले दण्ड सजाय दिने गृहमन्त्री अर्यालले जिकिर गरे ।
यसअघि महासंघले नेपाल प्रहरीको साइबर व्यूरोमा समेत सामाजिक सञ्जालहरुमा भइरहेको गुम्बामाथिको आक्षेप लगाउनेहरुलाई कारबाहीको माग गर्दै जाहेरी दिइसकेको छ ।
बुधवार नै महासंघले नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघमा समेत बौद्ध धर्म, समुदाय र धार्मिक केन्द्रहरुमाथि भइरहेको प्रहारको समाचार र अन्तरवार्ता संप्रेशण गर्ने सञ्चारमाध्यमविरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन निवेदन दिएको छ ।
