काठमाडौं । नेकपा एमालेमा पार्टीमा मात्रै होइन जनवर्गीय संगठनमा समेत मतभेद बढ्दै गएको छ । संगठनमा मतभेद सानो स्वरमा हुने गरेतापनि विद्यार्थी संगठनमा भने यसले चर्काे रुप लिइरहेको छ ।
भदौं २३ गते जेनजी आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली चलेपछि अनेरास्ववियुका अध्यक्ष सुजन कडरीयाले राजीनामा दिएका थिए । कडरीयाले मात्रै होइन पार्टीका विभिन्न पदमा रहेका नेता तथा कार्यकर्ताहरुले समेत सामाजिक सञ्जालबाटै राजीनामा दिएका थिए । तर एमालेले शुरु गरेको घर फर्कौ अभियानबाट नेताहरु पुरानै पदमा फर्किएर सक्रिय बनिरहेका छन् ।
अखिल अध्यक्ष कडरीया पनि पुनः अध्यक्षमा फर्किन तत्पर देखिएका छन् । तर उनलाई अखिल भित्रैबाट मात्रै होइन पार्टी अध्यक्ष केपी शर्मा ओली नै रोक्न खोजिरहेका छन् ।
महाधिवेशनको मुखैमा रहेको एमालेमा पार्टी भित्र मात्रै नभएर जनबर्गीय संगठनमा समेत चर्काे मतभेद र गुटबन्दी शुरु भएको छ । गत भदौं २३ गतेको जेनजी प्रर्दशनका क्रममा विद्यार्थी माथि गोली चलेको भन्दै एमाले निकट भातृ संगठनका अध्यक्ष सुजन कडरीयाले सामाजिक सञ्जालबाटै पदबाट राजीनामा दिएको घोषणा गरे ।
समाजिक सञ्जालबाट घोषणा गरेका कडरियाको राजीनामा अहिलेपनि अनेरास्ववीयुको केन्द्रीय कमिटिको बैठक बसेर स्वीकृत गरेको छैन ।नैतिक रुपमा राजीनमा दिएको घोषणा गरेका कडरीया गत कात्तिक २४ गते एमालेले सञ्चालन गरेको घर फर्क अभियानबाट आफुले राजीनामा दिए पनि राजीनामा स्वीकृत भइ नसकेकाले पुनः अनेरास्ववियूको नेतृत्वमा फर्केर काम गर्ने भन्दै अखिलको कार्यालय प्रवेश गरे । तर अहिले उनको यो कदमको महासचिव दिपक धामी लगाएतको समुहले चर्काे विरोध गरेको छ ।
पार्टीलाई संकटको बेलामा नेतृत्व छाड्ने र अहिले अवस्था सामान्य बनेपछि नेतृत्वमा फर्किन खोजेको भन्दै यसलाई स्वीकार नगर्ने अडान धामीले लिएका छन् ।
भदौं २३ गते विद्यार्थी सडकमा ढलेको बेला आफुले तत्कालको परिस्थिति अनुसार नैतिकताको आधारमा राजीनामा बुझाएको तर पार्टीले अहिलेसम्म पनि आधिकारीक रुपमा राजीनामा स्वीकृत नगरेपछि अहिले जिम्मेवारीमा फर्केर काम गर्ने गरी आफु अगाडि बढेको कडारियाको भनाइ छ ।
आफुले नैतिकता देखाएको बिषयलाई कमजोरी मान्ने र प्रहार गर्ने काम भइरहेको उनी गुनासो गर्छन् । एमाले छोडेर अरु नै पार्टीमा पुगेकाहरुलाई समेत घर फर्क अभियान चलाएर भित्र्याई आफु पनि सोही अनुसार संगठनको पूर्ववत पदमा फर्किएर काम गर्न थालेको कडारियाको दाबी छ ।
कडरीयाले आफु जिम्मेवारीमा फर्किएको बताएपनि अनेरास्ववियुका महासचिव दिपक धामीले भने भाँजो हालिरहेका छन् । संगठनको लेटर हेड समेत कडरीया र उनका पछि लाग्ने ब्यक्तिहरुले कब्जा गरेको आरोप लगाउँदै यसको दुरुपयोग नगर्न समेत धामीले कडरियालाई चेतावनी दिएका छन् । यता तत्कालिन परिस्थितिमा विद्यार्थी संगठनका नेताहरुले सडकमा उपस्थिति जनाउन नसक्नुलाई गम्भिर गल्ती भएको कडरिया स्वीकार्छन् ।
विद्यार्थी संगठनहरुको कब्जामा हुनु पर्ने सडक किन जेनजीको कब्जामा पुग्यो भन्ने बिषयमा प्रश्न उठाउँदै विद्यार्थीमाथि गोली चलेपछि नैतिकता देखाएको भन्दै उनले आफ्नो राजीनामा बचाउ गरे ।
गत जेठ २५ गते सम्पन्न भएको अनेरास्ववियुको २४ औं महाधिवेशनमा कडरीया र धामी दुवैजना केपी ओली गुटको नेतृत्व गर्दै निर्वाचनमा अध्यक्ष र महासचिव निर्वाचित भएका थिए । तर महाधिवेशन भएको ३ महिना पछि नै कडरीया र धामीबीच फुट आयो ।
केही दिन अगाडी गुण्डुमा भएको भेलामा पनि ओलीले अनेरास्ववियुमा उमेरहद लगाएर आफुले गल्ति गरेको भन्दै कडरियालाई अध्यक्ष बनाएको पश्चाताप गरेका थिए ।
केन्द्रीय समिति बैठकमा जेनजी भनेर अनेरास्ववियुको अध्यक्ष कडरीयालाइ बनाउँदा पार्टीले नोक्शानी मात्रै व्यहोर्नु परेको ओलीको तर्क छ ।
यसले एमालेको विद्यार्थी संगठनमा ओली गुटबाटै निर्वाचित भएपनि अहिले अध्यक्ष र महासचिवबीच आन्तरिक द्वन्द्व बढ्दा यसले बिस्तारै ओली गुटमै फुट आउन थालेको सन्देश गएको छ ।
