रुपन्देही । हरेक वर्ष रुपन्देहीमा औद्योगिक तथा व्यापारिक महोत्सव आयोजना गर्ने गरिन्छ । यसपटक पनि महोत्सव आयोजना गरिएका छन् । तर, स्थायी मण्डप नहुँदा छोटो समयका लागि आयोजना गरिएका महोत्सवमा अस्थायी संरचना खडा गर्नकै लागि करोडौं रुपैयाँ खर्च भइरहेको छ ।
रुपन्देहीमा प्राय मेला माहोत्सवको आयोजना भइनै रहन्छन् । औद्योगिक एवम् व्यपारिक क्षेत्र भएकाले पनि यहाँ व्यापार प्रवद्र्धनका लागि महोत्सवहरु गर्ने गरिन्छ ।
अहिले पनि मंसिर ३ देखि २१ गतेसम्म भैरहवामा सातौं लुम्बिनी महोत्सव आयोजना गर्ने तयारी धमाधम चलिरहेको छ । तर, महोत्सवका लागि आवश्यक स्थायी मण्डप बनाउनेतर्फ भने कसैले ध्यान दिएका छैनन् । अस्थायी संरचना बनाउन करोडौं रुपैयाँ खर्च गर्ने, केही समय काम लाग्छ त्यसपछि वेकामे । यस पटकपनि यही प्रवृति दोहोरिएको छ ।
अस्थायी संरचनामा करोडौं खर्च भएका महोत्सवहरु
- सातौं लुम्बिनी महोत्सव– आयोजक संस्था चेम्बर अफ कमर्स, रुपन्देहीले निजी जग्गामा करोडको संरचना बनाएर सातौं लुम्बिनी महोत्सव आयोजना गर्न लागेका छन् ।
- मणिग्राममा औद्योगिक तथा पर्यटन महोत्सव– तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना मणिग्राममा मंसिर १५ देखि औद्योगिक तथा पर्यटन महोत्सव हुँदैछ । आयोजकका अनुसार १५ दिनको यस महोत्सवका लागि यहाँ पनि रु. ६० लाख बढी खर्चेर अस्थायी संरचना बनाइँदैछ ।
- देवदह, सैनामैना लगायतका ठाउँमा पनि हरेक वर्ष महोत्सव आयोजना गरिन्छ । ती ठाउँमा पनि स्थायी मण्डप नहुँदा करोडौं खर्चेर अस्थायी संरचना बनाउनुपर्ने बाध्यता छ ।
बुटवलमा पछिल्लो तीन वर्षयता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महोत्सव आयोजना हुँदै आएको छ । यति मात्रै होइन्, विभिन्न जातजाति र सांस्कृतिक कार्यक्रमका लागि पनि अस्थायी संरचनामै लाखौं खर्च हुँदै आएको छ ।
रुपन्देहीमा बुटवल बाहेक अन्य स्थानमा स्थायी मण्डप छैन । जसले गर्दा छोटो अवधिका लागि आयोजना गरिने महोत्सवमा करोडौं खर्चेर अस्थायी संरचना बनाउन निजी क्षेत्र बाध्य छ ।
चेम्बर अफ कमर्सले मात्रै भैरहवामा आयोजना गरेका महोत्सवमा अस्थायी संरचनाका लागि हालसम्म ६ करोड बढी खर्च गरिसकेको छ । यस्तै, सिद्धार्थ उद्योग बाणिज्य संघले पनि हालसम्म लगाएका महोत्सवमा १० करोड बढी खर्चेको छ ।
स्थायी मण्डप अभावमा लाखौं रकम वार्षिक रुपमा अस्थायी संरचनामा खर्च गर्नुपर्ने बाध्यता निजी क्षेत्रको छ । मेला महोत्सवमा निजी क्षेत्रले स्थायी मण्डपको माग गर्ने गर्छन्, तर संरचना तयार गर्न न निजी क्षेत्र कस्सिएर लागेको देखिन्छ न स्थानीय, प्रदेश र संघ सरकार ।
भैरहवामा यसअघि स्थायी मण्डप बनाउन समिति नै बनाइएको थियो । तर, उक्त समितिले पहिचान गरेका क्षेत्रमा सरकारी संरचना भएकाले खाली हुनै सकेनन् । अर्कातर्फ जग्गा अभावले यहाँ स्थायी मण्डपको संरचना बनाउनै समस्या छ ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अनुसार प्रदेशका १२ जिल्लामा प्रत्येक वर्ष महोत्सव आयोजना हुन्छन् । तर, ती सबै महोत्सव अस्थायी संरचनामा गर्नुपर्ने बाध्यता छ । यस्ता संरचना खडा गर्न मात्रै प्रदेशमा वार्षिक १० करोड बढी खर्च हुँदै आएको छ ।
स्थायी मण्डप भए महोत्सव मात्रै होइन, राजनीतिकदेखि अन्य सभासमारोह गर्दा समेत अस्थायी संरचना बनाउन पर्ने थिएन । तर, स्थायी मण्डपमा ध्यान नदिँदा बर्सेनि लाखौं रुपैयाँ खर्चिनु परेको छ । कतिपय संरचना तयार गर्दा भारतबाट कालीगढ र सामान ल्याउनुपर्दा लाखौं रुपैयाँ बाहिरिरहेको छ ।
त्यसैले निजी र सरकारी साझेदारीमा भए पनि ठूला सहरमा स्थायी मण्डप निर्माण गर्नुपर्ने निजी क्षेत्रको माग छ । यसका लागि तीन तहका सरकारले साझेदारी गर्नु पर्ने आवाज लामो समयदेखि उठ्दै आएको छ । तर, तीनै तहको समन्वय र तदारुकता अहिलेसम्म देखिएको छैन ।
