बारा । बाराको सिमरामा जेन–जी समूहले राजमार्ग अवरुद्ध गर्दै आएको प्रदर्शनलाई जिल्ला प्रशासन कार्यालय बाराले सुरक्षा चुनौतिको रुपमा लिएको छ । बिहीबार प्रदर्शन स्थगित भएपनि सिमरा क्षेत्र सुरक्षा दृष्टिकोणबाट संवेदनशील नै रहेको प्रशासनको निष्कर्ष छ ।
बाराको सिमरामा बिहीबार भएको झडपमा छ जना प्रहरी र चार जना जेन–जी कार्यकर्ता घाइते भएका छन् । प्रहरी पक्षमा घाइतेहरूमा दुइ जना निरीक्षक समेत रहेका छन् ।
भिड व्यवस्थापनको क्रममा ढुंगा प्रहार, धक्का–मुक्की र अराजक व्यवहारका कारण उनीहरूलाई चोट लागेको हो । जेन–जी समूहतर्फ घाइतेहरूमा लिलाहरी सापकोटा, श्री चौधरी, सन्देश घिमिरे र निसान श्रेष्ठ रहेका छन् ।
तीमध्ये सन्देश घिमिरे र निसान श्रेष्ठको अवस्था गम्भीर देखिएकाले तत्काल नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज रेफर गरिएको छ । जेन–जीका सम्राट भनिने साइकुल उपाध्यायले प्रदर्शन रोकिएको बताए र प्रशासनसँग भएको सहमतिको आधारमा शुक्रबार औपचारिक वार्ता हुने जानकारी दिएका छन् ।
स्थानीयका अनुसार झडप सुरु हुँदा सयौँ युवाहरू सडकमा उत्रिएर प्रहरीमाथि आक्रमक हुदै ढुंगा प्रहार गर्दै अघि बढेका थिए । सो क्रममा जेन–जी कार्यकर्ताले प्रहार गरेको ढुंगाले आफ्नै साथीलाई लाग्दा चार जना जेन–जी समेत घाईते भएका छन् ।
जिल्ला प्रशासन बाराले सुरक्षा अवस्था नियन्त्रणमा राख्न बिहीबार दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ । कफ्र्यू क्षेत्रमा सिमरा चोक, पथलैया, परवानीपुर, औद्योगिक करिडोर तथा आसपासका स्थानहरू समेटिएका छन् ।
जेनजीको प्रदर्शन स्थगित भएपनि उग्र समूहको गतिविधि र सम्भावित हिंसाका संकेतले प्रहरी प्रशासनलाई सतर्क बनाएको छ । प्रहरी घाइते हुँदा समेत सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन लागि परेको प्रहरीको भनाइ छ ।
यस अवधिमा केवल अत्यावश्यक कामका लागि घरबाहिर निस्कन अनुमति दिइएको छ भने स्थानियले शान्ती सुरक्षा कायम गर्न माग गरेका छन । तर स्थानीयले शान्ती कायम नभएको गुनासो गरेका छन् ।
सुरक्षकर्मीहरुले संवेदनशील स्थानहरूमा घेरा कडा गरेका छन् । प्रहरी र सशस्त्र प्रहरी बललाई प्रमुख चौक–चौक, विद्यालय, बजार क्षेत्र, औद्योगिक मार्ग र भीड सम्भावित स्थलहरूमा परिचालन गरिएको छ । प्रशासनले कफ्र्यू उल्लंघन गर्नेहरूमाथि कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ ।
सुरक्षा दृष्टिकोणबाट, सामाजिक सञ्जालमा फैलिएको पुरानो भिडिओ र भ्रामक सामग्री पनि चुनौतीपूर्ण कारकको रूपमा देखिएको प्रशासनले जनाएको छ । भ्रामक सूचना, अफवाह र पुराना भिडिओले वास्तविक सुरक्षा अवस्था कमजोर पार्न सक्ने र उग्र भिडन्तको जोखिम बढाउन सक्ने भन्दै संवेदनशील अवस्थामा यस्तो सामग्री फैलाउने व्यक्तिहरूको पहिचान र नियन्त्रणका लागि कानुनी प्रक्रिया अघि बढाइसकेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीले बताए ।
जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराचोकमा भएको झडपपछि वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकमा जेन–जी प्रदर्शन जारी छ ।
प्रदर्शनकारीहरूले झडपमा संलग्न व्यक्तिहरूको कारबाही नहुँदासम्म सडक प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । यसै क्रममा बारा प्रहरीले किटानी जाहेरीका आधारमा दुई वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये जितपुरसिमरा–२ का ४० वर्षीय धन बहादुर श्रेष्ठ र जितपुरसिमरा–६ का ३४ वर्षीय कैमुदिन अंसारी रहेका छन् ।
