News 24 Television
सवारीसाधन बिग्रेकै स्थानमा सेवा प्रदान गर्न ‘मोबाइल ग्यारेज एप’ सार्वजनिक

काठमाडौं । मोबाइल ग्यारेज टिमले मोबाइल एप सार्वजानिक गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सीपलाई समाधानसँग जोड्ने मोबाइल ग्यारेज एप सार्वजानिक गरिएको हो ।

मोबाइल ग्यारेज एपले सवारीसाधन बिग्रिएमा मिस्त्रीहरू उपलब्ध गराउनेछ । सवारी धनी र सवारी मर्मतसम्बन्धी सीप भएका दुवै पक्षलाई सेवा दिने उद्देश्यले मोबाइल ग्यारेज एप सञ्चालनमा ल्याइएको मोबाइल ग्यारेज टिमका अध्यक्ष ओमकार पौडेलले जानकारी दिए ।

सवारीसाधनमा समस्या भएमा एपमार्फत ग्यारेज मिस्त्रीको खोजी गर्न सकिनेछ । उक्त एपमार्फत सहजै रूपमा रियल टाइममा नै मिस्त्री उपलब्ध हुने र ग्यारेजसम्बन्धी सीप भएकाहरूलाई रोजगारी पनि मोबाइल एपमार्फत उपलब्ध हुने पौडेलले बताए ।

एपमा रियल टाइम सेवा, प्रमाणित मिस्त्री प्रोफाइल, सजिलो एप साइनअप र व्यापार वृद्धि लगायतका सुविधा छ । मोबाइल ग्यारेज एप उद्घाटन कार्यक्रममा बोल्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले एप संचालन गरेकोमा मोबाइल ग्यारेज टिमलाई धन्यवाद दिए ।

उनले सडक सञ्जालमा यात्रा गरिरहेको समयमा सवारी साधन बिग्रिए उक्त ठाउँमा मर्मतका लागि मोबाइल ग्यारेज एपमार्फत मेकानिकहरु पुग्ने भएकाले थप सहज हुने बताए ।

यस्तै कार्यक्रमका बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नरेश राज सुवेदीले व्यापार, व्यावसाय तथा आर्थिक कारोबारलगायत सबै क्षेत्रमा प्रविधिको प्रयोगले सहज भएको भन्दै प्रविधिलाई सहि सदुपयोग गर्नुपर्ने बताए । उनले मोबाइल ग्यारेज एपले राजमार्गमा जथाभावी खोलिएका ग्यारेजको समस्या पनि समाधान हुने बताए ।

मोबाइल ग्यारेज एपमा ग्यारेज सञ्चालक र सवारी धनी जोडिन सक्नेछन् । मोबाइल ग्यारेज एप प्ले स्टोर वा एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिनेछ । एपमा मेकानिकहरुले मेकानिकको प्रोफाइल बनाउनुपर्ने र सेवाग्राहीले साइनअप गर्नुपर्ने सुविधा रहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update