News 24 Television
भ्यू टावरमा करोड डुब्यो ! पुग्ने बाटो नै बनेन !

सर्लाही । भ्यू टावरका नाममा सर्लाहीमा भएको खर्च औचित्यहीन साबित भएको छ । पर्यटन प्रवद्र्धन गर्न भन्दै करोडौँ खर्चेर पहाडमा बनाइएका भ्यू टावरहरू अलपत्र छन् । स्थानीयवासीमा समेत यस्ता भ्यु टावरप्रति न कुनै अपनत्व छ, न त चासो नै छ । 

सर्लाहीको लालबन्दी नगरपालिकामा करिब एक करोड रुपैयाँ खर्चेर निर्माण गरिएको भ्यू टावर कामविहीन बनेको छ । भ्यू टावरसम्म पुग्ने बाटो नै छैन तर, करोड रुपैयाँ टावरका नाममा स्वाह भइसक्यो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको भनिएको यो टावरमा बाटोकै कठिनाइले न त आन्तरिक पर्यटक जान्छन्, न त बाह्य पर्यटक । 

बजेट खर्च गर्न हतार अनि आफ्नो नाममा दर्ज गराउन हतार गरि नेताहरु सक्रिय बन्दा भ्यू टावरसम्मको पूर्वाधारसम्ममा ध्यान दिने फुर्सद छैन उनीहरुलाई । 

यहाँ भ्यू टावरबाट दृष्यहेर्ने कसैलाई चासो छैन । यो भ्यू टावर लालबन्दी नगरपालिका वडा नम्बर–१३ नारायणडाँडाँमा रहेको छ, तर, सञ्चालन नहुँदा जीर्ण बन्दै गएको छ ।

निर्माण सम्पन्न भए पनि नगरपालिकाले भ्यू टावर सञ्चालन नगर्दा लाखौं रुपैयाँ खर्चिएको संरचना अलपत्र बनेको हो । लालबन्दि नगरपालीकाले ०७७\७८ सालमा करिब १ करोड १२ लाख रुपैयाँ लागतमा ३५ फिटको तिन तल्ले अग्लो टावर निर्माण गर्ने गरि ठेक्का लगाएको थियो । संरक्षण र सञ्चालन नहुँदा भ्यू टावरको संरचना भत्किन लागेको स्थानीयको गुनासो छ ।  भ्यू टावर अहिले प्रयोग बिहीन हुँदा जग्गा दिने जग्गा दातामा समेत निरास बनेका छन । 

टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले भ्यु टावर नजिकै घर भएका स्थानीयवासी खुशी भएका थिए । तर, अवस्था त्यो रहेन । वडा नम्बर १३ का वडाध्यक्ष शिव कृष्ण वैधले भ्यूटावरको ठेक्का लिएका ठेकेदारको मृत्यु भएको कारण अलपत्र भएको बताउदै संचालनमा ल्याउन सबैसँग सहयोगको याचना गरेका छन् ।  

पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको भ्यु टावरबाट देखिने दृश्य र टावरको सतहबाटै देखिने दृश्यमा कुनै भिन्नता छैन  । पूर्व नगर प्रमुखको पालामा निर्माण भएको भ्यू टावर अहिलेका नगर प्रमुखले सो भ्यू टावरलाई खासै चासो देखाएको पाइदैन ।

भ्यु टावरसम्म पुग्ने सडकसमेत सहज नहुनु आसपासमा पर्यटकलाई आकर्षित गर्ने थप संरचना नहुनुले यो स्थान सुनसान बनेको हो ।  भ्यू टावर सञ्चालन सँगसँगै अन्य संरचनाहरु निर्माण गरेर यस क्षेत्रमा पर्यटनको विकास गर्ने लक्ष्य राखेर लालबन्दि नगरपालिकाले करिब १ करोड १२ लाख खर्च गरेर भ्यु टावर बनाईए पनि सञ्चालनमा नआउदा लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update