News 24 Television
रुपन्देहीको रोहिणीमा प्रसुति केन्द्र बन्द, जनप्रतिनिधिको चलखेल !

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित बगाहा स्वास्थ्यचौकीमा रहेको प्रसुति केन्द्र बन्द भएपछि स्थानीय निराश बनेका छन् । केन्द्र बन्द भएपछि त्यहाँ रहेका बेड र उपकरण समेत खेर गएका छन् । केन्द्रमा प्रसुति सेवाका लागि पालिकाले करारमा दुई जना तालिम प्राप्त नर्स, एक–एक जना स्वीपर र चौकिदार राखेको थियो । गाउँपालिकाले अस्थायी र करार दरबन्दीका कर्मचारी कटौंती गरेपछि प्रसुति केन्द्र बन्द भएको हो । 

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर १ मा स्वास्थ्यचौकी थियो, जहाँ स्थानीयहरुको आशा रहेको थियो । विशेषगरि महिलालाई यस स्वास्थ्य चौकीप्रति लगाव थियो । तर, अहिले यहाँका स्थानीय निराश छन् । 

रोहिणी गाउँपालिकाको बगाहा स्वास्थ्यचौकीमा रहेको प्रसुति केन्द्र कार्तिक २ गतेबाट बन्द भएपछि यस घटनाले महिलालाई प्रभावित बनाएको छ ।

७ वर्षदेखि  प्रसुति  सेवा उपलब्ध भइरहेको थियो । बगाहा स्वास्थ्यचौकी प्रमुख बुद्धीप्रसाद पन्थका अनुसार गत साउनमा नर्सिङतर्फ शान्ता ज्ञवाली, खेमकुमारी महतो, स्वीपर विपतकुमारी नाउ र चौकीदार सुड्डु लोहारको करार अवधि थप भएको थियो । यी कर्मचारीको पारिश्रमिकका लागि पालिकाले वार्षिक २० लाख खर्च गरिरहेको थियो । 

गत असोजमा दुईपटक बसेको कार्यपालिकाको बैठकले खर्च कटौतीका लागि भन्दै करार सम्झौंता रद्ध गरेपछि प्रसुति केन्द्र बन्द भएको हो । असोज महिनामा दुईपटक बसेको कार्यपालिका बैठकपछि अस्थायी र करार सम्झौता गरेर नियुक्त गरिएका ३९ कर्मचारी हटाइयो । 

पालिकाले वार्षिक सेवाप्रवाहका आधारमा कर्मचारी कटौती गरिएको जनाएको छ । कर्मचारी नभएपछि प्रसुति केन्द्रमा रहेका बेड लगायत उपकरण खेर गएका छन् । स्वास्थ्यचौंकीबाट प्रसुति गराउने बाहेक गर्भवती जाँच लगायत सेवा भने निरन्तर छन् । स्थानीयले भने पालिका अध्यक्ष बिद्याप्रसाद यादवले आफ्नो अनुकुलन भएका कर्मचारी कटौती गरेको भन्दै बिरोध जनाएका छन्  । घरदैलोमा प्राप्त सुविधा बन्द गर्दा आफूहरु मर्कामा परेको स्थानीयको गुनासो छ  । 

लुम्बिनी प्रदेश सरकारले तराईका जिल्लामा सञ्चालित प्रसुति केन्द्रमा महिनामा कम्तिमा ५ जना सुत्केरी गराउनुपर्ने नियम लागू गरेको छ । यो केन्द्रले लक्ष्य नभेट्टाएको पालिकाको दावी छ । 

तर घरदैलोमा प्राप्त सुविधा बन्द गर्दा मर्कामा परेको बताउदै उक्त वडाका सबै महिलाले भैरहवा पुगेर ठुला अस्पतालहरुमा सेवा लिन नसक्ने गर्भवत महिलाहरुको भनाई छ । जटिल अवस्था भएका बाहेक महिलाले सहज रुपमा पाइरहेको सेवा बन्द गरिनु अन्यायपूर्ण भएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update