मुगु । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो वस्तीमा अत्याधिक चिसो बढेपछि १ सय २० परिवारले गाउँ छोडेका छन् । कार्मारोङ गाउँका स्थानीय चिसो छल्नका लागि मुगुकै सिरानचौर, चितै तिहार बगर, गमगढी गएका छन्, भने केही जुम्ला, नेपालगञ्ज र काठमाडौंसम्म पुगेका छन् । जाडोले गर्दा मंसिरमा गाउँ छोडेका उनीहरु चैत–वैशाख महिनामा गर्मि लागेसँगै घर फर्किन्छन् ।
हिमाली जिल्ला मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका –२ मा रहेको मुगु गाँउमा चिसो बढेपछि गाउँ नै रित्तिन थालेको छ । नाक्चेलाग्ना सीमा प्रहरी चौकी, स्थानीय सरकारको वडा कार्यालय, स्वास्थ्य सस्था, विद्यालय सहित एक सय २० घर परिवारले गाँउ छोडिसकेका छन् ।
पुस–माघ महिनामा हिमपातले माथिल्लो वस्तीमा पुरै ढाक्ने गरेको छ । त्यसैले अहिले गाउँ नै सुनसान भएको छ । गाँउमा हिजोआज २ वटा गुम्बा पूजा गर्ने २ जना पुजारी बाहेक अन्य कुनै पनि मान्छे हुदैनन् । जाडोले गर्दा मंसिरमा गाउँ छोडेका उनीहरु चैत वैशाखमा गर्मी लागेसँगै घर फर्किने गरेका छन् ।
समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइमा रहेको मुगु गाउँका स्थानीय जाडो मौसममा ६ महिना बेसी र गर्मी मौसममा ६ महिना गाउँमै बस्ने गरेका छन् ।
पशुचौपाया, चौरीहरु बाटन तिर छन् । बेला–बेला चौरी मालिक पाटन तिर गएर चौरीहरुको रेखदेख गर्ने गरेको मुगम कामारोङ्ख गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष च्यावा लामा बताउँछन् ।
यस्तै मुगु गाउँमा रहेका प्रहरी चौकी पनि जिल्ला सदरमुकाम सरेको छ । गर्मी सुरु भएपछि बेशी झरेका स्थानीय गाउ फर्केर खेतीपाती जडिबुटी संकलन सुरु गर्ने गरेका छन् । जाडोले बेशी झरेका मुगु गाउँका स्थानीय गाउँ नफर्किदा सम्म बिकास निर्माणका कामकाज प्रभावित हुने गरेको छ ।
