काठमाडौं । सुरक्षा चुनौती थपिने र सुरक्षाको जिम्मा राज्य पक्षले लिने सामान्य प्रक्रिया हो । तर, पछिल्लो समय ज्यान मार्न धम्कीसहितको भिडियो सार्वजनिक भएपछि सुरक्षा कडा पारिएको छ । सुरक्षा थ्रेट बढेको भनिएका १० व्यक्ति को हुन् र उनीहरुमाथि किन यस्तो धम्की आउन थाल्यो त ? यो चासोको विषय बनेको छ ।
केहिदिन पहिले प्रकाश पाठक नाम गरेका व्यक्तिले विभिन्न १० जना व्यक्तिलाई ज्यान मार्ने धम्की दिएको समाचार सार्वजनिक भयो । समाचारसंगै सार्वजनिक भएको भिडियोमा धम्की दिने प्रकाशले १० जना व्यक्तिको नाम लिए । त्यसपछि शुरु भयो– कोलाहल ।
ज्यान मार्ने धम्कीपछि प्रहरीले केहि व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताइएको छ । पूर्वउच्च पदस्थ व्यक्तिमाथि यस्तो धम्कीपछि प्रहरीले सुरक्षा तैनाथी, पेट्रोलिङ, गस्ती र सादा पोसाकका सुरक्षाकर्मी नै प्रयोग गरेको छ । तर, धम्की दिने प्रकाश भने भारतमै रहेको दाबी गर्ने गर्दै आएका छन् । यस्तोमा किन १० जनाको नाम तोकेर ज्यान मार्ने धम्की आयो ? धम्कीपछि सरकारलाई सुरक्षा थ्रेटको महशुस कसरी हुन पुग्यो ? तमाम विषयहरु सतहमा छन् ।
यस्तोमा को–को व्यक्तिमाथि धम्की आयो ?
१. प्रेम कुमार राई – प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२. लोकमान सिंह कार्की– पूर्वप्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
३. गोपाल बहादुर खड्का– पूर्वमहाप्रबन्धक, नेपाल आयल निगम
४. रमेश लेखक, पूर्वगृहमन्त्री
५. आरजु राणा देउवा, पूर्वपरराष्ट्रमन्त्री
६. बालकृष्ण खाँण, पूर्वगृहमन्त्री
७. ओम विक्रम राणा, पूर्वप्रहरी महानिरीक्षक
८. हेम बहादुर गुरुङ, पूर्वप्रहरी महानिरीक्षक
९. रमेश चन्द ठकुरी, पूर्वप्रहरी महानिरीक्षक
१०. दुर्गा प्रसाई, मेडिकल व्यवसायी
यी व्यक्तिहरुमाथि ज्यानमार्ने धम्कीपछि प्रहरीले सुरक्षा व्यवस्थाका निम्ति पत्राचार नै गरेको छ । जसमा बोधार्थ नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग, सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्र.अ. म. नि. को सचिवालय, रानीपोखरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरी र नगर प्रहरी कार्यालय भृकुटीमण्डप काठमाडौंलाई दिइएको छ ।
ज्यान मार्ने धम्कीपछि प्रहरीले सुरक्षा तैनाथी बढाएपनि यसरी धम्की दिनेहरुको ल्याकत, कार्ययोजना र उनीहरुले गर्नसक्ने कामको बारेमा भने विस्तृत जानकारी प्राप्त गर्न सकेको देखिन्न । अख्तियार प्रमुख राईमाथिको थ्रेटका कारण समेत प्रहरी चनाखो बन्ने स्थिति बनेको देखिन्छ भने यो तैनाथीले कस्तो परिणाम निकाल्छ भन्ने विषय चासोमा छ ।
ज्यान मार्ने धम्की किन ?
अख्तियार प्रमुख प्रेम राईमाथि वाइडबडी प्रकरणदेखि विभिन्न प्रकरणमा घोटाला गरेको आरोप लाग्ने गरेको छ । उनले अख्तियारको नियुक्ति लिएको विषयलाई लिएर चर्को विरोध समेत भएको देखिन्छ भने उनीमाथिको यस्तो आरोपकैबीच उनले प्रमुखको हैसियतमा कारबाही समेत अघि बढाएको देखिन्छ, जुन कुरामा स्वार्थको द्वन्द्ध बाझिने भन्ने गरिन्छ ।
यता, लोकमानसिंह कार्कीमाथि पनि विभिन्न आरोप छन् भने अदालतमा समेत मुद्दा खेपिरहेका छन् । गोपाल खड्का नेपाल आयल निगममा प्रमुख हुँदा घोटाला गरेकोदेखि निगमको जग्गा खरिद प्रकरणमा दोषी नै ठहर भएका थिए ।
यसैगरि, पूर्वगृहमन्त्री बालकृष्ण खाँणमाथि नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा विचाराधिन छ भने आरजु राणा देउवामाथि समेत शरणार्थीकै विषयलाई लिएर आरोप लगाउने गरिन्छ । यता, अर्कापूर्वगृहमन्त्री रमेश लेखकमाथि समेत अध्यागमन सेटिङको आरोप लाग्ने गरेको छ भने जेनजी आन्दोलन दबाउन भूमिका खेलेको समेत आरोप लाग्ने गरेको छ ।
दुर्गा प्रसाईमाथि राज्यविप्लवदेखि थुप्रै आरोपहरु देखिन्छ भने अन्य व्यक्तिको हकमा समेत थुप्रै आरोपहरु रहेका छन् । यसकारण उनीहरुमाथि ज्यान मार्ने धम्की आएको कतिपयले भन्ने गरेका छन् । तर, सुरक्षा दिनु राज्यको दायित्व नै भएकाले यसतर्फको सचेतता भने कडाईका साथ अपनाउने काम गर्न थालेको देखिन्छ ।
