सप्तरी । नेपाल खानेपानी संस्थान शाखा कार्यालय राजविराजले एक करोडभन्दा बढी रुपैयाँ खर्चेर सप्तरीमा पम्प स्टेसन निर्माण ग¥यो । तर, एक करोडको लगानीमा बनेको पम्प स्टेशनबाट ६ वर्षमा एक लिटर पानी पनि आपूर्ति भएको छैन । एक करोडको लगानी वालुवामा पानी जस्तै बनेको छ, यस पम्प स्टेसनमा ।
यो सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा रहेको पम्प स्टेसन हो । नेपाल खानेपानी संस्थानले ट्यांकीमा पानी आपूर्तिका लागि बनाइएको हो यो पम्प स्टेसन । तर, राज्यकोषबाट एक करोडभन्दा बढी रुपैयाँ खर्च गरेर बनाएको ६ वर्षसम्म पनि यस पम्प स्टेसनबाट एक लिटर पानीसम्म खान पाएका छैनन्, राजविराजवासीले ।
निर्माणताका कुल एक करोड एक लाख ३६ हजार ३ सय ४७ रुपैयाँ खर्च भएको छ यस स्टेसनका लागि । संस्थानले २०७७÷०७८ मा त्यहाँ ३६ लाख ३३ हजार ४ सय ७६ रुपैयाँमा डिप बोरिङ र ०७८÷०७९ मा ५९ लाख २ हजार ८ सय ७१ रुपैयाँमा पम्प अपरेटर क्वाटर, ट्वाइलेट, सेप्टिक ट्याङ्क तथा कम्पाउन्ड वाल निर्माण गरेको थियो ।
ट्रान्सफर्मर जडानसहित विद्युतीकरणमा पनि ६ लाख रुपैयाँ खर्च गरेको कार्यालयको तथ्याङ्क छन् । डिप बोरिङ परीक्षण गर्दा मोटर नै जलिसकेको छ भने त्यहाँको योजना सफल नहुने देखेर फिल्टर पनि झिकिसकेको पम्प स्टेसन रेखदेख गर्न ज्यालादारी कर्मचारी चन्द्र देव भगत बताउँछन् ।
तीन हजार चार सय ८ जना उपभोक्ता रहेको संस्थानमा अहिले संस्थानकै परिसर, पडरिया, खर्साल र नेपाल टेलिकम परिसरमा रहेका डिप बोरिङबाट दैनिक ४० लाख लिटर पानी आपूर्ति हुँदै आएको छ । अहिले बिहान, दिउँसो र बेलुका गरी दैनिक साढे ५ घण्टा धारामा पानी दिँदै आए पनि उपभोक्ताका लागि पर्याप्त होइन ।
संस्थान राजविराज शाखाका लेखा अधिकृत अजय वरियैतले निर्माणाधीन मलेठ–राजविराज सडक खण्ड विस्तार हुने विषय यकिन नभएका कारण पाइप ओछ्याउन नसकिएको बताउँछन् ।
राज्यको करोडौँ लगानी लगाएर बनेको संरचना प्रयोगमा नआउँदा लगानी व्यर्थ नै गइरहेको छ । एकातिर राज्यकोष सकिने अर्कातिर, नागरिक सेवा पाउनबाट बन्चित हुने यस अवस्थालाई तत्काल अन्त्य गर्नु आवश्यक देखिन्छ ।
