News 24 Television
तीन दिनसम्म थाहा नगरपालिका जात्रामय

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा रहेको प्रसिद्ध इन्द्रायणी माईको ऐतिहासिक जात्रा बिहीबारदेखि विधिवत् रूपमा शुरु भएको छ । भगवान इन्द्र र इन्द्रायणी अर्थात सतिदवीसँग सम्बन्धित किम्बदन्तीमा आधारित यो जात्रा मकवानपुर जिल्लाको मात्रै होइन, बागमती प्रदेशकै महत्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा पहिचान बनाउँदै आएको छ ।

मकवानपुरको थाहा नगरपालिका ऐतिहासिक इन्द्रायणी जात्राको रौनकमा झुमेको छ । बिहीबारबाट सुरु भएको यो जात्रा वर्षौँदेखि नेवार र देउला समुदायले परम्परागत रूपमा मनाउँदै आाएका छन् । यो जात्रा हेर्न जिल्ला भित्रैको विभिन्न स्थनका साथै काठमाडौँ, चितवन, धादिङलगायतका छिमेकी जिल्लाबाट समेत पुग्ने गरेका छन् । तीन्दिने जात्राको पहिलो दिन भगवान गणेश, इन्द्रायणी, कुमारी र कालाभैरबको रथ इन्द्रायणी मन्दीरमा ल्याइने परम्परा छ ।

थाहा नगरपालिका–२ देउला गाउँमा राखिएको भगवानको मुर्तिलाई पालुङ हिटीसम्म ल्याएर रथमा राखेर इन्द्रायणी मन्दीरमा ल्याएपछि जात्राको विधिवत् सुरुवात हुन्छ । नेवार समुदायले भात पकाएर खर्पुङमा राख्दै कुमारी गोजा तयार गरेपछि रथारोहरण सुरु हुन्छ । 

देउला गाउँमा राखिएको मुर्ति लिन इन्द्रायणी, भगवती, कालभैरव गुठीका गुठियारहरु बाजागाजा सहित देउला गाउँ पुग्छन् । देउला गाउँका पुजारीहरुले काम्दै भगवानलाई मञ्जुर बनाएपछि पूजाआराधना गरेर पालुङ डबलीमा ल्याइन्छ । त्यसपपछि रथमा राखेर थाहा–३ मा रहेको इन्द्रायणी माईको मन्दीरमा रथ पु¥याइन्छ । 

त्यसोत, पुस्तौदेखि चल्दै आएको सांस्कृतिक परम्परा जोगाउने चुनौती पछिल्लो समय उत्तिकै बढेको स्थानीयहरु बताउँछन् । नेपाल सरकारले २०५८ सालमा गुठीका जग्गाहरु फिर्ता लिएसँगै आर्थिक व्यवस्थापनको पाटोको चुनौती पनि छँदैछ, त्यसबाहेक पुस्तान्तरण हुन नसक्दा केही वर्षमा यो ऐतिहासिक परम्परा नासिने हो कि ? भन्ने चिन्ता स्थानीयको छ । 

यता, यस्ता ऐतिहासिक जात्राको संरक्षणमा स्थानीय तह आफैले पनि चासो देखाएको पाइन्छ । आर्थिक अभावकै कारण जात्रा चल्न नसक्ने अवस्था आउन नदिन थाहा नगरपालिकाले अक्षय कोषमा रकम विनियोजन गर्दै आएको स्थानीय जनप्रतिनिधि बताउँछन् । 

यसपटक जात्राको दोस्रो दिन शुक्रवार सर्वसाधारणले मुख्य पुजा गर्नेछन् भने तेस्रो दिन शनिवार रथ उठाउने, प्रसाद वितरण गर्ने तथा पुजारीहरुले तान्त्रिक विधि सहितको पूजा गर्दछन् । तीन दिनसम्म लाग्ने जात्राको व्यवस्थापन इन्द्रायणी कालभैरव गुठी संरक्षण समितिले गर्दै आएको छ । 

रथारोहण देखि पूजाआजाको जिम्मेवारी नेवार र देउला समुदायको मात्रै भए पनि यस बाहेक सबै जातजातीहरुले पनि रातभर जाग्राम बस्ने, बत्ति बाल्ने, पूजाआजा गर्ने, बाटो नाप्ने लगायत गर्छन् । जात्रा अवधिभर भाकल गर्नेहरुले बोका, राँगा तथा कुुखुराको बली समेत चढाउने गरेका छन् । बिहीबारबाट सुरु भएको जात्रा शनिबार राति प्रसाद वितरणपछि समापन हुन्छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update